एन्फा महिला लिगमा वालिङमाथि एपिएफको जित
काठमाडौं – साविक विजेता नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिगमा वालिङ नगरपालिकामाथि कठिन जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ।
चौथो खेलमा तेस्रो जित निकाल्ने क्रममा एपिएफले बिहीवार वालिङलाई २-१ हरायो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा एपिएफलाई जित दिलाउन रेनुका नगरकोटी र रश्मीकुमारी घिसिङले गोल गरे । वालिङका लागि भने सिसे एन्टोङगोले सान्त्वना गोल गरिन् ।
खेलको १२औं मिनेटमै कप्तान रेनुकाले गोल गर्दै एपिएफलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । खेलको ३८औं मिनेटमा रश्मीले एपिएफको अग्रता दोब्बर बनाइन् । वालिङका लागि ८०औं मिनेटमा सिसेले गोल गरिन् ।
४ खेलबाट १० अंकका साथ एपिएफ दोस्रो स्थानमा छ । समान १० रहे पनि गोलअन्तरका आधारमा नेपाल पुलिस क्लब शीर्ष स्थानमा छ ।
आजै भएको पहिलो खेलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबले बागमती युथ क्लबलाई ३-० ले पराजित गरेको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।












