दिव्य रोशनी साप्ताहिकको २२ औं स्थापना दिवस सम्पन्न: पाँच जना पत्रकार र एक शिक्षासेवी सम्मानित – Sagarmathapana:: Online News Portal

दिव्य रोशनी साप्ताहिकको २२ औं स्थापना दिवस सम्पन्न: पाँच जना पत्रकार र एक शिक्षासेवी सम्मानित

   २०८३ जेष्ठ ९ गते  

निमा पोङ्स्युवा

​धरान।दिव्य रोशनी साप्ताहिक पत्रिकाको २२ औं स्थापना दिवसको अवसरमा आयोजित विशेष सम्मान तथा शुभकामना आदान-प्रदान कार्यक्रम धरान उपमहानगरपालिकाको सभाहलमा भव्यताका साथ सम्पन्न भएको छ। पत्रिकाकी सम्पादक मनिता चाम्लिङको अध्यक्षता तथा धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अईन्द्र बिक्रम बेघाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

​स्थापना दिवसको अवसरमा शिक्षा तथा पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई नगद र सम्मानपत्रसहित अभिनन्दन गरिएको छ।


​शिक्षासेवी डा. झा अभिनन्दित, ५ पत्रकार पुरस्कृत

​कार्यक्रममा शिक्षा क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै पब्लिक हाईस्कुल धरानका प्रधानाध्यापक डा. ईन्द्र मोहन झालाई दोसल्ला ओढाई विशेष अभिनन्दन गरिएको थियो।

​यसैगरी, पत्रिकाकी सम्पादक मनिता चाम्लिङका दिवंगत पारिवारिक सदस्यहरूको स्मृतिमा स्थापित विभिन्न पत्रकारिता पुरस्कारहरूबाट पाँच जना सञ्चारकर्मीहरूलाई जनही नगद रु ५ हजार ५ र सम्मानपत्रद्वारा पुरस्कृत गरियो:

उत्कृष्ट सामाजिक पत्रकारिता सम्मान: सम्पादक चाम्लिङका बुवा (क्विन गोर्खा ईन्जिनियरिङ सार्जन्ट स्व. प्रभुराम राई) को स्मृतिमा स्थापित यो सम्मानबाट चिसेफायु अनलाईन मिडियाका सम्पादक निमा पोङसुवा र चलचित्र पत्रकार महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष सञ्जु राई सम्मानित हुनुभएको छ।

​युवा पत्रकारिता सम्मान: सम्पादक चाम्लिङका दिवंगत दाजु राजु राईको स्मृतिमा स्थापित पुरस्कारबाट ब्लाष्ट टाईम्स दैनिकका पत्रकार खिलानाथ विश्वकर्मा सम्मानित हुनुभएको छ।

​सृजनशिल पत्रकारिता पुरस्कार (२०८३): सम्पादकका दिवंगत कान्छा दाजु बाजुन राईको स्मृतिमा स्थापित पुरस्कारबाट कोले न्यूजका रोहित कुलुङ राई सम्मानित हुनुभएको छ।

​सृजनशिल पत्रकारिता पुरस्कार (२०८२): गत वर्ष थाती रहेको सोही विधाको पुरस्कारबाट नुमाफुङ मिडियाका स्वर्णिमहाङ फोम्बोलाई सम्मान गरिएको छ।

​’सञ्चार माध्यम समाजको ऐना’

​कार्यक्रमका प्रमुख अतिथी धरानका कार्यवाहक मेयर अईन्द्र बिक्रम बेघाले दिव्य रोशनी साप्ताहिकले २२ वर्षसम्म निरन्तर जनपक्षीय पत्रकारिता गरेको भन्दै प्रशंसा गर्नुभयो। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विशिष्ट अतिथीहरू पत्रकार महासंघ कोशी प्रदेशका महासचिव हिमा चेम्जोङ, पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, अग्रज पत्रकार हर्ष सुब्बा र पब्लिक हाईस्कुलका प्रअ डा. ईन्द्र मोहन झाले मोफसलको पत्रकारिताका चुनौती र दिव्य रोशनीको योगदानबारे चर्चा गर्नुभएको थियो।

​त्यस्तै, सम्मानित व्यक्तित्वहरूको तर्फबाट कोले न्यूजका रोहित कुलुङ राई र अनलाईन मिडिया एशोसिएसनका अध्यक्ष स्वर्णिमहाङ फोम्बोले आफ्नो धारणा राख्नुभएको थियो।

​भव्य समारोहबीच मायाको चिनो वितरण

​कार्यक्रममा आमन्त्रित सम्पूर्ण अतिथीहरूलाई कृतज्ञता स्वरूप ‘मायाको चिनो’ प्रदान गरिएको थियो। कार्यक्रमको गरिमा बढाउन महिला संजाल धरानकी अध्यक्ष सावित्री ईवारम र गृह श्रमिक महिला ढाका लघु उद्यमी समाज नेपालकी अध्यक्ष प्रेम कुमारी राई लगायतको आतिथ्यता रहेको थियो।

​पत्रिकाकी सम्पादक मनिता चाम्लिङको स्वागत मन्तव्यबाट सुरु भएको उक्त समारोहलाई पत्रिकाका प्रबन्ध निर्देशक सागर सिंजालीले धन्यवाद ज्ञापन गर्दै समापन गर्नुभएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै