संखुवासभामा बरुण नदीमा निर्माणाधीन जलविद्युत् परियोजनाविरुद्ध स्थानीयको ध्यानाकर्षण
निमा पोङ्स्युवा
संखुवासभा।संखुवासभाको भोटखोला गाउँपालिकास्थित बरुण नदी क्षेत्रमा निर्माण गर्न लागिएको जलविद्युत् परियोजनाको विरोध गर्दै स्थानीयवासी तथा आदिवासी समुदायले जिल्ला प्रशासन कार्यालय संखुवासभाको ध्यानाकर्षण गराएका छन्।
“माझुवा तथा तल्लो बरुण संघर्ष समिति” ले प्रमुख जिल्ला अधिकारीसमक्ष बुझाएको पत्रमा बरुण नदी स्थानीय समुदायको आस्था, संस्कृति, जीविकोपार्जन र जैविक विविधतासँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै परियोजना तत्काल रोक्न माग गरिएको छ।


समितिले एपेक्स इनर्जी प्रालिले निर्माण गर्न लागेको १३२ मेगावाट क्षमताको जलविद्युत् परियोजनाले बरुण नदी क्षेत्रको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक महत्व नष्ट हुने दाबी गरेको छ। स्थानीय समुदायले उक्त परियोजनाप्रति गम्भीर आपत्ति जनाउँदै आवश्यक अध्ययन र सहमति बिना अघि बढाइएको आरोप लगाएका छन्।
ध्यानाकर्षण पत्रमा बरुण नदी क्षेत्र आदिवासी जनजातिको परम्परागत बसोबास, कृषि, पशुपालन तथा जडीबुटीमा आधारित जीवनशैलीसँग जोडिएको उल्लेख छ। नदीलाई केवल पानीको स्रोत नभई हिन्दु, बौद्ध तथा किरात धर्म–संस्कृतिसँग सम्बन्धित पवित्र पर्यावरणीय सम्पदाका रूपमा व्याख्या गरिएको छ।


समितिका अनुसार प्रत्येक वर्ष माघ १ गते नेपालसहित भारत र चीनबाट समेत श्रद्धालुहरू पूजा तथा मेला भर्न आउने गर्दछन्।
स्थानीय समुदायले नदी, वन तथा हिमाली पर्यावरणले आफ्नो जीवन प्रणालीलाई निरन्तरता दिएको उल्लेख गर्दै परियोजनाले वातावरणीय र सांस्कृतिक असर पार्ने चिन्ता व्यक्त गरेका छन्।
समितिले स्थानीय समुदायको सहमति बिना व्यापारिक उद्देश्यले परियोजना अघि बढाइनु अन्यायपूर्ण भएको बताउँदै सम्बन्धित निकायलाई आवश्यक हस्तक्षेप गर्न आग्रह गरेको छ।













