किमाथांकासम्म सडक सञ्जाल विस्तार, ट्र्याक्टरसहित खाद्यान्न ढुवानी पुग्यो
निमा पोङ्स्युवा
संखुवासभा।सडक विभागअन्तर्गतको खाँदबारी–किमाथांका सडक योजनाले २०८३ साल जेठ १ गते अन्तिम विन्दु किमाथांकासम्म सडक कनेक्टिभिटी विस्तार गर्न सफल भएको जनाएको छ।
योजना कार्यालयका अनुसार निर्माण कार्यमा प्रयोग हुने मेसिनसँगै खाद्यान्न बोकेको ट्र्याक्टरसमेत चीन सीमास्थित किमाथांकासम्म पुगेको छ। सम्पूर्ण गेटवे पास प्रक्रिया पूरा गरी संखुवासभाका चार स्थानीय तहलाई जोड्ने यस “लाईफलाइन राजमार्ग” स्तरोन्नतिका लागि नेपाल सरकारले सडक तथा पुल निर्माणतर्फ ४ अर्ब ७१ करोड रुपैयाँ स्रोत सुनिश्चित गरिसकेको कार्यालयले जनाएको छ।


अब नयाँबस्ती–दोभान–बरुण सडक खण्डमा कालोपत्रे, घोङ्घप्पा–किमाथांका खण्डमा ग्राभेलसहित स्तरोन्नति तथा १० वटा पुल निर्माणको प्रक्रिया अघि बढाइने योजना कार्यालयले जनाएको छ। छिट्टै ठेक्का व्यवस्थापन गरी निर्माण कार्य कार्यान्वयनमा लैजाने प्रतिबद्धता समेत कार्यालयले व्यक्त गरेको छ।
भोटखोला गाउँपालिका–१ का वडा अध्यक्ष नुर्पु च्याबाले सामाजिक सञ्जालमार्फत किमाथांकामा ट्र्याक्टर पुगेको भिडियो सार्वजनिक गरेका छन्। भिडियोमा अगाडि डोजरले बाटो सम्याउँदै र पछाडि खाद्यान्न बोकेको ट्र्याक्टर किमाथांकातर्फ अघि बढिरहेको देखिन्छ।

बैशाखको दोस्रो साता चिसेफायु मिडियाको टोली किमाथांका पुगेको थियो। स्थलगत रिपोर्टिङका क्रममा धोङ्गोक्पा–किमाथांका खण्डमा केही चट्टान फोड्न बाँकी रहेको र सोही महिनाभित्र सडक जोडिने स्थानीय तथा प्राविधिकहरूले बताएका थिए।
पूर्वको कर्णाली भनेर चिनिने संखुवासभाको दुर्गम उत्तरी क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने यो सडकलाई स्थानीयले बहुप्रतिक्षित विकास आयोजना तथा जिल्लाको आर्थिक र सामरिक महत्व बोकेको प्रमुख मार्गका रूपमा लिने गरेका छन्। चीन–भारत–नेपाल त्रिदेशीय राजमार्गको सम्भावनासमेत बोकेको यस सडकमार्ग खाँदबारीदेखि किमाथांकासम्म १६५ किलोमिटर लामो रहेको सडक विभागले जनाएको छ।

यो सडक निर्माणका लागि तातोपानी हुँदै चीनको भूभागबाट डेन्दाङ–चाङ्खा मार्ग प्रयोग गरी दुईवटा डोजर ल्याइएको थियो। प्रारम्भमा किमाथांकाबाट दक्षिणतर्फ खनिएको सडक मूल गाउँहरू छुमसुर, च्याम्ताङ, गुम्बा, लिङ्गम र चेपुवालाई नछोइ सिधै हुङ्गुङ लैजाने भएपछि स्थानीयस्तरमा विवाद भएको थियो। लामो संघर्षपछि अन्ततः सडक मूल बस्तीहरू छोएर निर्माण गर्न बाध्य बनाइएको स्थानीयहरूले बताएका छन्।












