विराटनगरमा उद्योगी–व्यवसायीसँग रास्वपा सांसदको छलफल, निजी क्षेत्रका समस्या समाधानमा जोड
विराटनगर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सांसदहरूले विराटनगरमा उद्योगी–व्यवसायीसँग भेटघाट तथा छलफल गरेका छन्। निजी क्षेत्रका आवश्यकता, समस्या र सुझाव बुझ्ने उद्देश्यले मंगलबार मोरङ उद्योग व्यापार संघमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।
संघका अध्यक्ष अनुपम राठीको सभापतित्वमा सम्पन्न कार्यक्रममा रास्वपाकी सांसद तथा केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारी (आचार्य) सहित सांसदहरू लाल विक्रम थापा, यज्ञमणि न्यौपाने, सन्तोष राजवंशी र आशा झा सहभागी थिए।

कार्यक्रममा अध्यक्ष राठीले हालै गठन भएको नयाँ सरकारप्रति शुभकामना व्यक्त गर्दै निजी क्षेत्रका समस्या बुझ्न सांसदहरू संघमै आएकोमा खुशी व्यक्त गरे। उनले सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको बताउँदै आर्थिक विकास, लगानी प्रवर्द्धन, रोजगारी सिर्जना र औद्योगिक वातावरण सुधारमा संघ सधैं सहकार्य गर्न तयार रहेको बताए।
उनले खुला सीमाबाट हुने अवैध कारोबार नियन्त्रण गर्नुपर्ने, दैनिक उपभोग्य वस्तुमा भन्सार दर घटाउनुपर्ने, स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नुपर्ने तथा बहुदर मूल्य अभिवृद्धि कर प्रणाली लागू गर्नुपर्ने सुझाव समेत दिए।

कार्यक्रममा सहभागी अन्य व्यवसायीहरूले पर्यटन क्षेत्र विस्तार, जलविद्युत उत्पादनमा लगानी, उद्योगका लागि जग्गा व्यवस्थापन तथा सरकारी कामकारबाहीलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने धारणा राखेका थिए।
साथै आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि अर्थ मन्त्रालयमा पेश गरिएका निजी क्षेत्रका सुझावहरू कार्यान्वयन गर्न सांसदहरूको ध्यानाकर्षण गराइएको थियो।
कार्यक्रममा संघका पूर्वअध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधि, उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा रास्वपाका विभिन्न तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।













