यलम्बर सालिक उद्घाटनमा विवाद, साम्पाङको कार्यक्रम रोकियो – Sagarmathapana:: Online News Portal

यलम्बर सालिक उद्घाटनमा विवाद, साम्पाङको कार्यक्रम रोकियो

   २०८३ बैशाख १२ गते  

काठमाडौं।श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ) ले आगामी वैशाख १८ गते तय गरेको यलम्बरको सालिक उद्घाटन कार्यक्रम विवादमा परेको छ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाको पञ्चरबाटोमा निर्माण गरिएको ११० फिट अग्लो यलम्बर सालिक उभौली पर्वको अवसरमा उद्घाटन गर्ने तयारी भए पनि नगरपालिकाको सहमति नजुट्दा विवाद चर्किएको हो।

वडाध्यक्ष दिनेश राई ले बुधबार पत्रकार सम्मेलन गर्दै साम्पाङसहित प्रतिनिधिसभा सदस्य आरेन राई, गायक Rajesh Payal Rai, अभिनेता Dayahang Rai र कलाकार यलिसा राई लगायतको उपस्थितिमा उद्घाटन गर्ने जानकारी दिएका थिए।

तर उपप्रमुख विसन राई ले सालिक नगरपालिकाकै आयोजनामा उद्घाटन गर्ने तयारी भइरहेको बताएका छन्। प्रदेश सरकार र नगरपालिकाको संयुक्त बजेटबाट निर्माण भएकाले नगरपालिकाले अपनत्व लिने र नगरकै आयोजनामा उद्घाटन गर्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ। यसबारे आगामी शुक्रबार कार्यपालिका बैठकबाट निर्णय गरिने बताइएको छ।

वडाध्यक्ष राईले भने योजना आफ्नो वडाको भएकाले वडा नै आयोजक हुने अडान दोहोर्‍याएका छन्।

उक्त सालिक कोशी प्रदेश सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा ११ करोड ४९ लाख रुपैयाँभन्दा बढी लागत मा निर्माण गरिएको हो। निर्माणको जिम्मा उमा तुवाचुङ अन्सुली जेभी ले लिएको थियो।

यसअघि गत जेठ १८ गते कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्की बाट उद्घाटन गर्ने तयारी भए पनि पहिचान पक्षधर समूहको विरोधपछि कार्यक्रम रोकिएको थियो।

यलम्बर सालिक उद्घाटनलाई लिएर अहिले पुनः स्थानीय तह, वडा र राजनीतिक पक्षबीच स्वामित्वको विवाद सतहमा आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै