देशभर भिटामिन ‘ए’ अभियान सुरु,२२ लाख बालबालिका लाभान्वित हुने
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले देशभरिका ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई लक्षित गर्दै भिटामिन ‘ए’ खुवाउने राष्ट्रिय अभियान सुरु गरेको छ।
आइतबार र सोमबार सञ्चालन भइरहेको यस अभियानअन्तर्गत करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुकाको औषधि पनि खुवाइँदैछ। बालबालिकाको पोषण अवस्था सुधार गर्ने र रोगप्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।
मन्त्रालयका अनुसार, एक वर्षदेखि पाँच वर्षमुनिका झण्डै २० लाख बालबालिकालाई जुकाको औषधि Albendazole खुवाउने कार्यसमेत भइरहेको छ। अभियान सफल बनाउन देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ।
नेपालमा हरेक आर्थिक वर्षको कात्तिक र वैशाख महिनामा नियमित रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क वितरण गरिँदै आएको छ। सरकारले यस कार्यक्रमलाई बालस्वास्थ्य सुधारको प्रमुख पहलका रूपमा अघि बढाउँदै आएको छ।












