रास्वपा सचिवालय बैठक सुरु, महाधिवेशनदेखि संगठन सुदृढीकरणसम्मका एजेन्डामा छलफल
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आजबाट सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा संगठन सुदृढीकरणदेखि आगामी महाधिवेशनसम्मका महत्वपूर्ण विषयमा गहन छलफल भइरहेको छ।
बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३ पारित गर्ने, बैंक खाता सञ्चालनसम्बन्धी स्पष्ट व्यवस्था गर्ने तथा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभिन्न विभागहरूको मनोनयनसम्बन्धी एजेन्डा प्रस्तुत गरिएको छ।


त्यसैगरी, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन गर्ने विषयलाई पनि प्राथमिकताका साथ अघि बढाइएको छ। पार्टीले विज्ञ तथा योजनामूलक प्रस्ताव (Call for Experts/Project Ideas) आह्वान गर्ने विषयमा समेत छलफल गर्ने जनाएको छ।
विविध एजेन्डाअन्तर्गत प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी निर्धारण, केन्द्रीय समिति बैठकको तयारी, संसदीय दलका लागि प्राविधिक सहयोग व्यवस्थापन तथा लेवीसम्बन्धी विषयमा समेत निर्णय लिने तयारी गरिएको छ।
पार्टीले आगामी दिनमा संगठन विस्तार र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित बैठकमार्फत ठोस निर्णयहरू सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।













