गृहमन्त्री गुरुङ र विवादित व्यवसायीबीच साझेदारीको आरोप, स्टार माइक्रो इन्स्योरेन्समा नाम भेटिएको दाबी – Sagarmathapana:: Online News Portal

गृहमन्त्री गुरुङ र विवादित व्यवसायीबीच साझेदारीको आरोप, स्टार माइक्रो इन्स्योरेन्समा नाम भेटिएको दाबी

   २०८३ बैशाख ६ गते  

काठमाडौं।गृहमन्त्री सुधन गुरुङ र प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टबीच व्यावसायिक सम्बन्ध रहेको दाबी सार्वजनिक भएको छ। साथै, सो सम्बन्धमा सुलभ अग्रवालको समेत संलग्नता रहेको भनिएको छ।

सम्पत्ति शुद्धीकरण तथा बीमा क्षेत्रसँग सम्बन्धित अनियमितताको अनुसन्धानका क्रममा हिरासतमा रहेका भट्ट र अग्रवालसँग गृहमन्त्री गुरुङको प्रत्यक्ष कनेक्सन रहेको आरोप लगाइएको हो। विशेषगरी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा उनीहरूबीच ‘फाउन्डर’ स्तरको साझेदारी रहेको दाबी गरिएको छ।


प्राप्त दस्तावेजलाई आधार मान्दै विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक गरिएको विवरणअनुसार उक्त कम्पनीको सञ्चालक लगतमा दीपक भट्टसँग सम्बन्धित कम्पनी ‘इन्फिनिटी होल्डिङ्स’ का प्रतिनिधि प्रजुनी बज्राचार्यको नाम उल्लेख छ। त्यस्तै, गृहमन्त्री गुरुङको नाम संस्थापक शेयरधनीको सूचीमा रहेको र उनको नाममा २५ हजार कित्ता शेयर दर्ता भएको दाबी गरिएको छ।

उक्त दाबी सार्वजनिक भएसँगै बहालवाला गृहमन्त्री र अनुसन्धानको घेरामा रहेका व्यक्तिहरूबीचको सम्भावित सम्बन्धले सरकारको निष्पक्षता र अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाएको छ।

तर, यस विषयमा गृहमन्त्री गुरुङ वा सम्बन्धित निकायबाट आधिकारिक प्रतिक्रिया भने आइसकेको छैन। साथै, सार्वजनिक गरिएका कागजातहरूको स्वतन्त्र पुष्टि अझै हुन बाँकी रहेकोले आरोपहरू पुष्टि भइसकेका छैनन्।

यस प्रकरणले बीमा क्षेत्र, विशेषगरी हिमालयन रिइन्स्योरेन्स लगायतका कम्पनीहरूमा भइरहेको भनिएको अनियमितता छानबिनलाई थप संवेदनशील बनाएको छ। अब सम्बन्धित निकायहरूले यस विषयमा के कदम चाल्छन् भन्ने चासो बढेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै