त्रिविको ३५ दिने अल्टिमेटम :अतिक्रमित जग्गा फिर्ता नगरे कारबाही हुने – Sagarmathapana:: Online News Portal

त्रिविको ३५ दिने अल्टिमेटम :अतिक्रमित जग्गा फिर्ता नगरे कारबाही हुने

   २०८३ बैशाख ५ गते  

काठमाडौं-त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो स्वामित्वमा रहेका अतिक्रमित जग्गा फिर्ता गर्न विभिन्न संघसंस्था, कम्पनी र व्यक्तिहरूलाई ३५ दिने अल्टिमेटम दिएको छ।

त्रिविले शुक्रबार सूचना जारी गर्दै विश्वविद्यालयको ऐन, नियम तथा प्रचलित कानुनविपरीत कब्जा, भोग तथा नियन्त्रणमा रहेका जग्गा तथा अचल सम्पत्ति तोकिएको समयभित्र खाली गरी आधिकारिक रूपमा फिर्ता गर्न आग्रह गरेको हो।

सूचनामा भनिएको छ— “यो सूचना प्रथमपटक प्रकाशन भएको मितिले ३५ दिनभित्र सम्बन्धित सबैले जग्गा खाली गरी/गराई त्रिभुवन विश्वविद्यालयलाई फिर्ता गर्नुपर्नेछ।” तोकिएको समयभित्र अटेर गरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।

त्रिविले यसअघि गठन गरेको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको २०८१ को प्रतिवेदन कार्यान्वयनका लागि पटक–पटक सूचना जारी गर्दै आएको भए पनि अतिक्रमित जग्गा हालसम्म फिर्ता नभएको जनाएको छ।

सरकारद्वारा गठित उक्त समितिले त्रिविको करिब २,५०० रोपनी जग्गा विभिन्न व्यक्ति, संस्था र निकायबाट अतिक्रमणमा परेको औँल्याएको थियो। विश्वविद्यालयले ती सम्पत्तिहरू शिक्षा क्षेत्रको विकासका लागि नेपाल सरकार तथा विभिन्न दाताहरूबाट प्राप्त भएको उल्लेख गर्दै अविलम्ब फिर्ता गर्न पुनः आग्रह गरेको छ।

सम्बन्धित पक्षलाई निर्देशन
त्रिविले प्रतिवेदनमा उल्लेख भएका तथा नभएका सबै अतिक्रमित जग्गा पहिचान गरी फिर्ता गर्न सम्बन्धित निकाय, संघसंस्था र व्यक्तिहरूलाई निर्देशन दिएको छ। साथै, यस प्रक्रियामा सहयोग गर्न स्थानीय तह र सरोकारवाला निकायलाई पनि आग्रह गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै