हाइब्रिड सवारीसाधन सम्बन्धी प्राविधिक तालिम काठमाडौँमा सम्पन्न – Sagarmathapana:: Online News Portal

हाइब्रिड सवारीसाधन सम्बन्धी प्राविधिक तालिम काठमाडौँमा सम्पन्न

   २०८३ बैशाख ५ गते  

काठमाडौं-नाइमा (NIMA) को समन्वयमा हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा तथा मर्मतसम्भार सम्बन्धी प्राविधिक तालिम आज काठमाडौँमा सफलतापूर्वक सम्पन्न भएको छ। विश्वप्रसिद्ध अटोमोबाइल ब्रान्ड Toyota का नेपालका लागि आधिकारिक वितरक United Traders Syndicate Pvt. Ltd. को प्राविधिक सहयोगमा काठमाडौँस्थित केन्द्रीय कार्यालयमा तालिम आयोजना गरिएको हो।

तालिममा Council for Technical Education and Vocational Training (सीटीइभिटी) अन्तर्गत Balaju School of Engineering and Technology का डिप्लोमा तह पाँचौँ सेमेस्टरका विद्यार्थीहरू तथा ट्राफिक चालकसहित २५ भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूलाई लक्षित गर्दै हाइब्रिड सवारी प्रविधिमा विशेष प्राविधिक प्रशिक्षण प्रदान गरिएको थियो।


कार्यक्रममा सहभागीहरूले हाइब्रिड सवारीसाधनको कार्यप्रणाली, सुरक्षा मापदण्ड तथा मर्मतसम्भारसम्बन्धी महत्वपूर्ण ज्ञान र प्रायोगिक सीप हासिल गरेका छन्। यसअघि पनि उनीहरूले गत चैत्रमा Laxmi Hyundai मा आयोजित ३ दिने विद्युतिय सवारीसाधन तालिम तथा नाइमा मोबिलिटी संवाद कार्यक्रममा सहभागिता जनाएका थिए।

नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले प्राविधिक शिक्षा र सीप विकासमा यस्ता तालिम कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।


उद्घाटन सत्रमा सीटीइभिटीका उपनिर्देशक खुशीराम अधिकारीले हाइब्रिड सवारीसम्बन्धी विषयलाई पाठ्यक्रममा समावेश गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। नेपालजस्तो विविध भौगोलिक संरचना भएको देशमा यस्ता प्रविधिको उपयोगिता बढ्दै गएको पनि उहाँले उल्लेख गर्नुभयो।

विद्यालयका उपप्राचार्य प्रदीप न्यौपानेले अटो उद्योग र प्राविधिक शिक्षाबीच सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिँदै यस्ता तालिमले विद्यार्थीलाई व्यवहारिक ज्ञान प्राप्त गर्न सहयोग पुगेको बताए।

समापन सत्रमा Vaidya Organization of Industries and Trading Houses का निर्देशक सूर्यांश वैद्यले व्यावहारिक तालिमले पेशागत विकास र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो।

उक्त तालिम शृङ्खलाअन्तर्गत हाइब्रिड सवारीसम्बन्धी प्रशिक्षण टोयोटाका प्राविधिक विज्ञहरूद्वारा प्रदान गरिएको थियो भने विद्युतिय सवारीसम्बन्धी तालिम लक्ष्मी हुन्डाईका विशेषज्ञहरूद्वारा सञ्चालन गरिएको थियो।

नाइमाले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको विकासका लागि प्राविधिक क्षमता अभिवृद्धि र संवादलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै