नेपालमा रोजगारी र सीप विकासमा नयाँ रणनीति,५ वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य
काठमाडौं-सरकारले रोजगारी वृद्धि र सीप विकासलाई केन्द्रमा राख्दै नयाँ रणनीति सार्वजनिक गरेको छ। प्रस्तावित योजनाअनुसार आगामी ५ वर्षभित्र १५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।
सरकारले कृषि क्षेत्रको आधुनिकीकरण, डिजिटल रोजगारी विस्तार, रिमोट वर्कको प्रवर्द्धन तथा सीमापार सेवा निर्यातलाई प्राथमिकतामा राख्दै रोजगारीका नयाँ अवसर सिर्जना गर्ने योजना अघि सारेको हो। विशेषगरी सूचना प्रविधिमा आधारित काम, फ्रीलान्सिङ र अन्तर्राष्ट्रिय बजारमा नेपाली जनशक्तिको पहुँच बढाउने रणनीति तय गरिएको छ।
शिक्षा क्षेत्रमा समेत सुधार गर्दै विद्यालय तहदेखि नै कोडिङ, डेटा विश्लेषण, कृत्रिम बुद्धिमत्ता (AI) र साइबर सुरक्षा जस्ता आधुनिक सीपहरू समावेश गर्ने तयारी गरिएको छ। यसले भविष्यका लागि दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने सरकारको अपेक्षा छ।
त्यसैगरी, विदेशबाट फर्किएका नेपाली श्रमिकहरूको सीप, अनुभव र पुँजीलाई स्वदेशमै उपयोग गर्ने योजना पनि अगाडि सारिएको छ। उनीहरूलाई उद्यमशीलता र उत्पादन क्षेत्रमा आकर्षित गर्दै आर्थिक विकासमा जोड्ने लक्ष्य लिइएको छ।
सरकारले “सीप, रोजगारी र आत्मनिर्भर नेपाल” भन्ने मूल नारासहित समग्र आर्थिक रूपान्तरणको दिशामा काम गर्ने प्रतिबद्धता जनाएको छ।












