एनआरएनए महिला सशक्तिकरण समितिको अध्यक्षमा रश्मी थापा नियुक्त
काठमाडौं-गैरआवासीय नेपाली संघ (एनआरएनए) ले समाजसेवी तथा व्यवसायी रश्मी थापालाई महिला सशक्तिकरण समितिको अध्यक्षमा नियुक्त गरेको छ। संघको ११४औँ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसि) बैठकले उक्त निर्णय गरेको हो।
संघद्वारा जारी नियुक्तिपत्रअनुसार थापाले २०२५–२७ कार्यकालका लागि महिला सशक्तिकरणसम्बन्धी गतिविधिहरूको विस्तृत कार्ययोजना (टिओआर) तयार गर्ने जिम्मेवारी पाएकी छन्। उक्त समिति एनआरएनएको महिला विभाग अन्तर्गत सञ्चालन हुनेछ।


नवनियुक्त अध्यक्ष थापालाई समितिका सदस्यहरू चयन गरी प्रस्ताव गर्ने, साथै उप-महासचिव वा सचिवमध्ये एक जनालाई सदस्य सचिवका रूपमा मनोनयन गर्ने अधिकारसमेत दिइएको छ। समितिको कुल सदस्य संख्या २५ भित्र रहनेछ भने अधिकतम पाँच जना सल्लाहकार राख्न सकिने प्रावधान छ।
एनआरएनएले आगामी ११५औँ आइसिसि बैठकबाट समितिहरू तथा कार्यदलहरूको अन्तिम गठन गर्ने जनाएको छ। सीमित स्रोतसाधनका बाबजुद समितिहरूलाई आत्मनिर्भर ढंगले सञ्चालन गर्नुपर्नेमा संघले जोड दिएको छ।

समाजसेवी तथा व्यवसायीका रूपमा परिचित थापाले महिला सशक्तिकरण र सामुदायिक विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएकी छन्। उनको नेतृत्वमा समितिले महिला सशक्तिकरण क्षेत्रमा थप प्रभावकारी काम गर्ने अपेक्षा गरिएको छ।












