सशस्त्र प्रहरीलाई थप सुदृढ बनाउने सरकारको प्रतिबद्धता, गृहमन्त्री सुधन गुरुङ को घोषणा
काठमाडौं:गृहमन्त्री सुधन गुरुङ ले सशस्त्र प्रहरी बल नेपाल लाई अझ सक्षम, व्यावसायिक र प्रभावकारी बनाउने दिशामा सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्।
३०औँ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले सीमा सुरक्षा, आन्तरिक शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। उनले संगठनले विगतमा खेलेको प्रभावकारी भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ सुदृढ रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए।
गृहमन्त्री गुरुङले तालिम शिक्षालयको स्तरोन्नतिका लागि गृह मन्त्रालयले आवश्यक स्रोत–साधन र सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए। साथै, नवदीक्षित अधिकृतहरूलाई उच्च मनोबल, साहस र इमानदारीका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्।
देशभरका ७७ वटै जिल्लामा सशस्त्र प्रहरी बल नेपाल को उपस्थिति रहेको उल्लेख गर्दै उनले शान्ति सुरक्षा कायम गर्न यसको योगदान अपरिहार्य रहेको बताए।
कार्यक्रमको अवसरमा उनले सम्पूर्ण नेपालीहरूमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै समृद्ध र सुरक्षित नेपालको कामना गरेका छन्।












