कालोभीर पहिरोपछि बेनिघाट–लार्के सडक खुलाउने दौड,५ दिनभित्र वैकल्पिक ट्रयाक बनाइँदै – Sagarmathapana:: Online News Portal

कालोभीर पहिरोपछि बेनिघाट–लार्के सडक खुलाउने दौड,५ दिनभित्र वैकल्पिक ट्रयाक बनाइँदै

   २०८२ चैत्र ३० गते  

काठमाडौं- एक सातादेखि अवरुद्ध रहेको बेनिघाट–लार्के सडकखण्डअन्तर्गत कालोभीर क्षेत्रमा अल्पकालीन रूपमा सवारी सञ्चालन गराउने प्रयास सुरु गरिएको छ। धार्चे गाउँपालिकाको समन्वयमा स्थानीय हाइड्रोपावर कम्पनीहरूले पहिरो पन्छ्याउँदै वैकल्पिक ट्रयाक खोल्न काम अघि बढाएका हुन्।

धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना र यारुखोला हाइड्रोपावर कम्पनीको सहयोगमा अस्थायी ट्रयाक निर्माण भइरहेको छ। “भत्किएको सडकभन्दा केही तल र बूढीगण्डकी नदीको बहावभन्दा माथिबाट नयाँ ट्रयाक खोल्ने काम भइरहेको छ,” उनले भने।

हाल दुईवटा एक्साभेटर प्रयोग गरेर काम भइरहेको र भोलिदेखि चारवटासम्म उपकरण परिचालन गरिने तयारी रहेको छ। पाँच दिनभित्र सवारी सञ्चालन गर्न मिल्ने गरी ट्रयाक खुलाउने लक्ष्य राखिएको अध्यक्ष गुरुङले बताए।

पृथ्वीराजमार्गको बेनिघाटदेखि चीनको सीमाना लार्केभञ्ज्याङसम्म विस्तार भइरहेको उक्त सडक नेपाली सेनाले निर्माण गरिरहेको भए पनि चालु आर्थिक वर्षको बजेट सकिएको कारण स्थायी समाधानका लागि आवश्यक काम अघि बढ्न सकेको छैन। सडक विभागबाट नयाँ बजेट तथा कार्यक्रम नआएकाले तत्कालका लागि अस्थायी उपाय अपनाइएको हो।

स्थानीय तहका अनुसार यदि छिट्टै सडक सञ्चालनमा नआए उत्तरी गोरखाको चुमनुब्री क्षेत्रका बासिन्दाहरूले खाद्यान्न लगायत अत्यावश्यक सामग्री ढुवानी गर्न समस्या भोग्नुपर्नेछ। विशेषगरी बर्खा सुरु हुनुअघि सामग्री सञ्चित गर्न नसके त्यहाँ खाद्य संकट निम्तिन सक्ने जोखिम औंल्याइएको छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय गोरखाले पनि सो सडकखण्ड यथाशीघ्र सञ्चालनमा ल्याउन धार्चे गाउँपालिकालाई आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थानीयको आवतजावत र आपूर्ति व्यवस्थालाई सहज बनाउन तत्काल पहल आवश्यक रहेको बताए।

अस्थायी ट्रयाक खुलेमा बर्खाअघि सम्म राहत मिल्ने अपेक्षा गरिएको छ भने दीर्घकालीन समाधानका लागि स्थायी सडक निर्माण आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै