अर्थमन्त्री स्वर्णिम वाग्लेको सम्पत्ति सार्वजनिक: ४५ तोला सुन, ९४ लाखको गाडी, ऋण ३.५५ करोडभन्दा बढी
काठमाडौँ।अर्थमन्त्री स्वर्णिम वाग्ले ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार उनीसँग ४५ तोला सुन र करिब ९४ लाख रुपैयाँ मूल्यको सवारी साधन रहेको छ। उनले उक्त सुन पारिवारिक स्रोत तथा आफ्नै आम्दानीबाट संकलन गरेको उल्लेख गरेका छन्।
सम्पत्ति विवरणमा वाग्लेको ऋणको हिस्सा उल्लेखनीय देखिएको छ। उनले Global IME Bank बाट १ करोड ५ लाख रुपैयाँ ऋण लिएका छन् भने व्यक्तिगत सापटीमार्फत २ करोड ५० लाख रुपैयाँ थप ऋण रहेको खुलाएका छन्। यससँगै उनको कुल ऋण दायित्व ३ करोड ५५ लाख रुपैयाँभन्दा बढी पुगेको छ।
लगानीतर्फ भने वाग्ले सक्रिय देखिन्छन्। उनले अपर मादी हाइड्रोमा ३ करोड रुपैयाँ, नेशनल फन्डमा ९० लाख र ठूलो लखोलामा ६० लाख रुपैयाँ लगानी गरेका छन्। त्यस्तै, Sanima Middle Tamor Hydropower मा ७१ हजार ९३ कित्ता र Shangrila Development Bank मा २५ हजार ७६२ कित्ता प्रमोटर सेयर रहेको विवरणमा उल्लेख छ।
विवरणअनुसार उनले Rastriya Banijya Bank र Standard Chartered Bank बाट लिएको ऋण भने पूर्ण रूपमा चुक्ता गरिसकेका छन्।
सरकारका उच्च पदस्थ अधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रमसँगै वाग्लेको विवरणले पारदर्शिता र आर्थिक गतिविधिबारे थप चासो बढाएको छ।












