PPP मोडेलमार्फत ७ बन्द सरकारी उद्योग पुनः सञ्चालन गर्ने सरकारको तयारी
काठमाडौं।बन्द अवस्थामा रहेका सरकारी उद्योगहरू पुनः सञ्चालन गर्ने उद्देश्यसहित नेपाल सरकारले महत्त्वपूर्ण कदम अघि बढाएको छ। सरकार अब निजी क्षेत्रसँग सहकार्य गर्दै PPP (Public-Private Partnership) मोडेलमार्फत ती उद्योगहरू सञ्चालनमा ल्याउने तयारीमा जुटेको हो।
अर्थ मन्त्रालयका अनुसार पहिलो चरणमा बन्द रहेका उद्योगहरूको अडिट तथा सम्पत्ति मूल्यांकन प्रक्रिया सुरु गरिएको छ। यसले उद्योगहरूको वर्तमान अवस्था, लगानी आवश्यकताहरू तथा सम्भावित साझेदारी मोडेल निर्धारण गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
पुनः सञ्चालनका लागि छनोट गरिएका उद्योगहरू यस्ता छन्:
- गोरखकाली रबर उद्योग
- जनकपुर चुरोट कारखाना
- बुटवल धागो कारखाना
- नेपाल मेटल कम्पनी
- नेपाल ओरिण्ड एण्ड म्याग्नेसाइट
- हेटौडा कपडा उद्योग
- उदयपुर सिमेन्ट उद्योग
सरकारको यो पहलले लामो समयदेखि बन्द रहेका उद्योगहरूलाई पुनर्जीवन दिने मात्र नभई रोजगार सिर्जना, आन्तरिक उत्पादन वृद्धि र आयात प्रतिस्थापनमा टेवा पुग्ने विश्वास गरिएको छ।
विशेषज्ञहरूका अनुसार PPP मोडेल प्रभावकारी रूपमा कार्यान्वयन भएमा राज्यको लगानीको जोखिम घट्ने र निजी क्षेत्रको दक्षता प्रयोग गर्न सकिने भएकाले उद्योगहरू दिगो रूपमा सञ्चालन हुने सम्भावना बढ्छ।
यसअघि विभिन्न कारणले बन्द भएका यी उद्योगहरू पुनः सञ्चालनमा आएमा देशको औद्योगिक क्षेत्रले नयाँ गति लिने अपेक्षा गरिएको छ।












