एकता शाहलाई एमबीबीएस छात्रवृत्ति: मन्त्रालय भन्छ–‘नियम विपरीत छैन’
काठमाडौं।जेनजी आन्दोलनकी घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस अध्ययन गराउने सरकारको निर्णयलाई लिएर उठेका विवादबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। मन्त्रालयले उक्त निर्णय पूर्ण रूपमा नियमसम्मत रहेको स्पष्ट पारेको छ।
चिकित्सा शिक्षा आयोगको मेरिट सूची मिचेर छात्रवृत्ति दिइएको भन्दै सार्वजनिक रूपमा आलोचना भएपछि मन्त्रालयले प्रष्टिकरण दिँदै शाहलाई दिइएको छात्रवृत्ति नियमित कोटाभन्दा बाहिरको ‘विशेष अतिरिक्त कोटा’ अन्तर्गत रहेको जनाएको हो।


मन्त्रालयका अनुसार यसका लागि सरकारले छुट्टै बजेट व्यवस्थापन गरेको छ, जसले गर्दा अन्य विद्यार्थीहरूले पाउने सिट वा अवसरमा कुनै प्रकारको असर नपर्ने दाबी गरिएको छ।
शैक्षिक योग्यताको विषयमा पनि मन्त्रालयले स्पष्ट पार्दै एकता शाहले चालु वर्षको एमबीबीएस प्रवेश परीक्षामा ५७.५ प्रतिशत अंक ल्याएर उत्तीर्ण गरेको जानकारी दिएको छ।

यसैगरी, उक्त निर्णय ‘जेनजी आन्दोलनका घाइतेहरूलाई राहत दिने सम्बन्धी कार्यविधि, २०८२’ को दफा ११ तथा मन्त्रिपरिषद्को चैत १ गतेको निर्णयअनुसार गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई सम्मान तथा सहयोग गर्ने उद्देश्यले यस्तो विशेष व्यवस्था गरिएको उल्लेख गरेको छ।












