सरकारी कार्यक्रममै ‘मही र लस्सी’ अनिवार्य बनाउन डेरी क्षेत्रको माग – Sagarmathapana:: Online News Portal

सरकारी कार्यक्रममै ‘मही र लस्सी’ अनिवार्य बनाउन डेरी क्षेत्रको माग

   २०८२ चैत्र २९ गते  

काठमाडौं।नेपाल डेरी एसोसिएसनले सरकारी तथा सार्वजनिक कार्यक्रमहरूमा विदेशी तथा कृत्रिम सफ्ट ड्रिंक्सको सट्टा स्वदेशी दुग्धजन्य पेय पदार्थ ‘मही’ र ‘लस्सी’लाई अनिवार्य रूपमा प्रयोग गर्न सरकारसँग माग गरेको छ।

एसोसिएसनले आइतबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यका दृष्टिले लाभदायक तथा स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि यस्तो व्यवस्था आवश्यक रहेको उल्लेख गरेको हो। पछिल्लो समय बजारमा आयातित तथा कृत्रिम पेय पदार्थको बढ्दो प्रयोगले स्थानीय दुग्ध उद्योगलाई असर परेको भन्दै त्यसलाई नियन्त्रण गर्न पनि यस्तो नीति आवश्यक भएको जनाएको छ।

त्यस्तै, शिक्षण संस्थाका क्यान्टिन, कर्पोरेट कार्यालय तथा अस्पतालहरूमा समेत स्वदेशी तथा स्वास्थ्यकर दुग्धजन्य पेय पदार्थलाई प्राथमिकता दिनुपर्नेमा एसोसिएसनले जोड दिएको छ। “मही र लस्सी जस्ता पेय पदार्थले पोषणका साथै स्थानीय किसानलाई पनि प्रत्यक्ष फाइदा पुर्‍याउँछ,” विज्ञप्तिमा भनिएको छ।

एसोसिएसनले सरकारसँग स्पष्ट नीति ल्याएर स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न आग्रह गरेको छ। यसले आयात प्रतिस्थापनमा सहयोग पुग्नुका साथै देशभित्रै रोजगारी सिर्जना हुने विश्वास व्यक्त गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै