संसद्मा प्रधानमन्त्री मौन रहनु स्वेच्छाचारी संकेत:शंकर पोखरेल
काठमाडौं।नेकपा एमालेका महासचिव शंकर पोखरेल ले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति उत्तरदायी नदेखिएको आरोप लगाएका छन्।
शनिबार च्यासलस्थित एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले जननिर्वाचित संसद्मा प्रधानमन्त्री मौन रहनु गम्भीर विषय भएको बताए। उनले संसद् जनताको सार्वभौम अधिकार प्रयोग गर्ने सर्वोच्च संस्था भएकाले प्रधानमन्त्रीले त्यहाँ आफ्ना धारणा राख्न आवश्यक रहेको उल्लेख गरे।
“संसद्मा प्रधानमन्त्रीले बोल्न आवश्यक ठान्नु भएन भने त्यो स्वेच्छाचारी शासनको संकेत हो,” उनले भने।
पोखरेलले पछिल्लो समय एमाले र यसको नेतृत्वलाई लक्षित गरी भ्रष्टाचारमा डुबेको भन्ने भाष्य निर्माण गर्न खोजिएको पनि आरोप लगाए। उनले नयाँ राजनीतिक शक्ति प्रति आकर्षण बढाउन पुराना दल र नेतामाथि अविश्वास फैलाउने प्रयास भइरहेको दाबी गरे।
उनका अनुसार यस्तो प्रवृत्तिले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने खतरा रहेको छ।












