नापी र मालपोत एकीकरणतर्फ सरकारको गृहकार्य,‘भूमि प्रशासन कार्यालय’ गठन हुने
काठमाडौं।सरकारले नापी कार्यालय र मालपोत कार्यालयलाई गाभेर एउटै एकीकृत संरचना निर्माण गर्ने तयारी अघि बढाएको छ। यस एकीकृत कार्यालयको नाम ‘जग्गा प्रशासन कार्यालय’ वा ‘भूमि प्रशासन कार्यालय’ राख्ने विषयमा प्रारम्भिक छलफल भइरहेको छ।
भूमि व्यवस्था, गरिबी तथा सहकारी मन्त्रालयका प्रवक्ता गणेश भट्टका अनुसार नापी र मालपोतलाई एउटै छातामुनि ल्याउने विषयमा विभिन्न तह र चरणमा परामर्श तथा छलफल सुरु भइसकेको छ। उनले भने, “सेवा प्रवाहलाई सहज, छरितो र प्रभावकारी बनाउन यस्तो अवधारणा अघि सारिएको हो।


मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयबाट प्राप्त निर्देशनअनुसार आवश्यक तयारी तीव्र पारिएको छ। सरकारी निकायबीच समन्वय बढाउँदै एकीकृत प्रणालीमार्फत नागरिकलाई सेवा दिने उद्देश्य राखिएको बताइएको छ।

उच्च स्रोतले दिएको जानकारीअनुसार आगामी आर्थिक वर्षदेखि नै यो योजना कार्यान्वयनमा जाने सम्भावना रहेको छ। एकीकृत कार्यालय स्थापना भएपछि जग्गा नापजाँच, दर्ता, नामसारीलगायतका सेवाहरू एउटै स्थानबाट प्राप्त हुने अपेक्षा गरिएको छ।
सरकारको यस कदमले सेवाग्राहीको समय, खर्च र झन्झट घट्ने तथा प्रशासनिक प्रक्रियामा पारदर्शिता र प्रभावकारिता बढ्ने विश्वास गरिएको छ।












