विद्यार्थी र ट्रेड युनियन खारेज गर्ने तयारीप्रति नेकपाको कडा आपत्ति – Sagarmathapana:: Online News Portal

विद्यार्थी र ट्रेड युनियन खारेज गर्ने तयारीप्रति नेकपाको कडा आपत्ति

   २०८२ चैत्र २८ गते  

काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विद्यालय, कलेज तथा श्रम क्षेत्रमा सक्रिय विद्यार्थी संगठन र ट्रेड युनियनहरू खारेज गर्ने सरकारको तयारीप्रति कडा आपत्ति जनाएको छ।

शनिबार पेरिसडाँडामा बसेको पार्टीको केन्द्रीय कार्यसंयोजन बैठकले सरकारको १०० बुँदे कार्यसूचीमा समावेश गरिएको विद्यार्थी संगठन खारेजीको प्रस्तावलाई ‘बेठिक’ भन्दै अस्वीकार गरेको हो।

बैठकपछि नेता जगन्नाथ खतिवडाले विद्यार्थी र मजदुरको संगठित हुने अधिकारमाथि बन्देज लगाउनु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने बताए। उनका अनुसार यस्तो कदमले नागरिकको मौलिक हकमाथि प्रत्यक्ष असर पर्नेछ।

नेकपाले सरकारका नीतिहरूले राजनीतिक दलसम्बद्ध जनसंगठनहरूको अस्तित्व नै समाप्त पार्ने प्रयास गरेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ। पार्टीले यस विषयलाई गम्भीर रूपमा लिँदै थप रणनीति तय गर्न आगामी वैशाख ३ गते पुनः बैठक बस्ने जनाएको छ।

पार्टीले विद्यार्थी, युवा र श्रमिक अधिकारको रक्षा गर्न आफूहरू दृढतापूर्वक उभिने स्पष्ट पारेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै