डोङफेङको इलेक्ट्रो–मेकानिकल ब्रेकिङ(EMB)प्रणालीको जाडो परीक्षण सफल,मास उत्पादन नजिक
काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता डोङफेङ मोटरले विकास गरेको इलेक्ट्रो–मेकानिकल ब्रेकिङ (EMB) प्रणालीको पहिलो मास–प्रोडक्सन परियोजनाले जाडो मौसम परीक्षण सफलतापूर्वक पार गरेको छ। कम्पनीको जनरल आरएन्डडी सेन्टर र यिपाइ टेक्नोलोजीका विशेषज्ञहरूको संयुक्त परीक्षणले कम घर्षणयुक्त सतहमा समेत प्रणालीले उत्पादन मापदण्डअनुसारको ब्रेकिङ प्रदर्शन गर्न सक्ने पुष्टि गरेको हो।
परम्परागत हाइड्रोलिक ब्रेक प्रणालीमा प्रयोग हुने ब्रेक फ्लुइड र पाइपलाइनलाई हटाउँदै EMB प्रणालीले इलेक्ट्रोनिक कन्ट्रोल युनिटमार्फत प्रत्यक्ष मोटर नियन्त्रण गर्छ। यस प्रविधिले हाल प्रचलित वान–बक्स हाइड्रोलिक ब्रेक–बाइ–वायर प्रणालीभन्दा छिटो प्रतिक्रिया दिने क्षमता देखाएको कम्पनीको दाबी छ।


डोङफेङले प्रणालीमा तीन तहको सुरक्षा संरचना समावेश गरेको छ। मुख्य तथा सहायक कन्ट्रोलर दुबै असफल भए पनि ब्रेक लाइट स्विचको संकेतमार्फत अगाडिका क्यालिपर सक्रिय हुने व्यवस्था गरिएको छ, जसले आपतकालीन अवस्थामा समेत ब्रेकिङ सुनिश्चित गर्छ।
मास उत्पादनतर्फ अघि बढ्दै गर्दा मोटर नियन्त्रणको शुद्धता, एल्गोरिदमको अनुकूलता, रिडन्डेन्सी संरचना तथा चरम मौसममा स्थिरता प्रमुख चुनौतीका रूपमा रहेका छन्। कम्पनीले यस प्रविधिमा २० भन्दा बढी पेटेन्ट दर्ता गरिसकेको जनाएको छ।

माइनस ३० डिग्री सेल्सियससम्मको चरम चिसोमा गरिएको परीक्षणमा प्रणालीले हिउँ र बरफयुक्त सतहमा समेत स्थिर ब्रेकिङ प्रदर्शन देखाएको बताइएको छ। साथै, NVH (Noise, Vibration, Harshness) प्रदर्शन र ब्रेकिङ स्मूथनेसले पनि इन्जिनियरिङ परिपक्वता पुष्टि गरेको कम्पनीको भनाइ छ।
डोङफेङले यो EMB प्रविधि सन् २०२६ को तेस्रो त्रैमासिकदेखि आफ्ना उत्पादन मोडेलहरूमा प्रयोगमा ल्याउने योजना बनाएको छ।












