उपत्यकामा सवारी भाडा २५.९६% सम्म वृद्धि, नयाँ दर लागू
काठमाडौं- बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरिएको छ। प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेसँगै नयाँ भाडादर कार्यान्वयनमा ल्याइएको हो।
नयाँ व्यवस्थाअनुसार काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने यात्रुवाहक सवारीको भाडा २५.९६ प्रतिशतले बढाइएको छ भने ट्याक्सी भाडा १२.३९ प्रतिशतले वृद्धि गरिएको छ। यस्तै, उपत्यका बाहिरका सवारी साधनमा १७.३५ प्रतिशत र मालवाहक सवारीमा २६.७९ प्रतिशतले भाडा बढाइएको मन्त्रालयले जनाएको छ।


इन्धन मूल्यमा भएको निरन्तर वृद्धि, सञ्चालन खर्चको बढ्दो भार तथा यातायात व्यवसायीको दबाबलाई आधार बनाएर भाडा समायोजन गरिएको मन्त्रालयको भनाइ छ।
तर, विद्युतीय सवारी साधन र विद्युतीय ट्याक्सी सेवाको भाडा भने हाललाई यथावत राखिएको छ।
नयाँ भाडादर लागू भएसँगै सर्वसाधारण यात्रुमा थप आर्थिक भार पर्ने देखिएको छ भने यातायात व्यवसायीले भने यसलाई आवश्यक निर्णयका रूपमा स्वागत गरेका छन्।













