सरकारी ‘बिचौलिया’ निषेधपछि eSewa र Khalti को सेवा स्थगित – Sagarmathapana:: Online News Portal

सरकारी ‘बिचौलिया’ निषेधपछि eSewa र Khalti को सेवा स्थगित

   २०८२ चैत्र २७ गते  

काठमाडौं-सरकारले सरकारी सेवा प्रक्रियामा देखिएको ‘बिचौलिया’ गतिविधि नियन्त्रण गर्न कडाइ गरेसँगै डिजिटल भुक्तानी सेवा प्रदायक eSewaKhalti ले लाइसेन्स तथा सवारी साधनको ब्लुबुक नवीकरणसम्बन्धी सेवा अस्थायी रूपमा स्थगित गरेका छन्।

दुवै कम्पनीले यसअघि पिकअप–ड्रप सुविधासहित सेवाग्राहीका कागजात संकलन, प्रक्रिया व्यवस्थापन र सेवा सम्पन्न गराउने कार्य गर्दै आएका थिए। तर, उक्त सेवाको स्पष्ट कानुनी आधार नभएको भन्दै हालका लागि सेवा रोकिएको जनाइएको छ।

यसअघि नै औपचारिक अनुमति बिना यस्तो सेवा सञ्चालन गरेको, सेवाग्राहीबाट अतिरिक्त शुल्क असुल गरेको तथा ‘सेटिङ’मार्फत काम गराएको आरोप यी कम्पनीमाथि लाग्दै आएको थियो। सार्वजनिक विज्ञापनमार्फत सेवाग्राही आकर्षित गरिँदै आएको विषयमा पनि आलोचना भइरहेको थियो।

सरकारले पछिल्लो समय बिचौलिया नियन्त्रण अभियानलाई तीव्र बनाउँदै डिजिटल माध्यमबाट हुने यस्ता सेवामा समेत निगरानी बढाएको छ। सम्बन्धित निकायले कानुनी स्पष्टता नहुँदासम्म यस्ता गतिविधि सञ्चालन नगर्न निर्देशन दिएको बुझिएको छ।

सेवा स्थगनसँगै अब सेवाग्राहीहरू लाइसेन्स र ब्लुबुक नवीकरणका लागि सम्बन्धित सरकारी कार्यालयमै प्रत्यक्ष उपस्थित भई प्रक्रिया पूरा गर्नुपर्ने भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै