काठमाडौं महानगरको ‘फूड सेफ्टी बुट क्याम्प’: अस्पताल क्यान्टिनमा स्वच्छता सुधार अभियान
काठमाडौं।काठमाडौं महानगरपालिकाले अस्पतालभित्र सञ्चालन हुने चमेना गृह, भोजनालय तथा क्यान्टिनहरूलाई सुरक्षित, स्वच्छ र उपभोक्ता–मैत्री बनाउन “फूड सेफ्टी बुट क्याम्प” सञ्चालन गरेको छ।
अस्पताल क्यान्टिनहरूमा सरसफाइको अभाव, गुणस्तरहीन खाना तथा असुरक्षित भण्डारणका समस्या देखिएपछि महानगरले व्यवसायीलाई सचेत गराउन यस्तो कार्यक्रम अघि बढाएको हो। अनुगमनका क्रममा काँचो र पाकेका खाना सँगै राखिने, खाना खुला छाडिने तथा किट नियन्त्रण कमजोर हुने जस्ता अवस्थाले बिरामी र सेवाग्राहीको स्वास्थ्यमा जोखिम बढाएको पाइएको थियो।


यस्ता जोखिम न्यूनीकरण गर्दै ‘विश्व स्वास्थ्य संगठन (WHO)’ को मापदण्डअनुसार खाद्य स्वच्छता कायम गराउने उद्देश्यले बुट क्याम्प सञ्चालन गरिएको महानगरले जनाएको छ। “विरामी निको पार्न सहयोग गर्ने मान्छे नै विरामी नहोस्” भन्ने सन्देशसहित आयोजित कार्यक्रममा क्यान्टिन सञ्चालकलाई कानुनी, प्राविधिक तथा स्वच्छता सम्बन्धी प्रशिक्षण दिइएको थियो।
महानगरको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले खाद्य स्वच्छतामा सरकार र व्यवसायी दुवैको समान जिम्मेवारी हुने बताउँदै सहकार्यबाट मात्र प्रभावकारी सुधार सम्भव हुने उल्लेख गर्नुभयो। उहाँले जानकारी भए पनि व्यवहारमा कार्यान्वयन नगर्दा कारवाही भोग्नुपर्ने अवस्था आउने चेतावनी दिनुभयो।

महानगरले एक महिनाभित्र क्यान्टिनहरूको पुनः अनुगमन गर्ने जनाएको छ। कारवाहीभन्दा सुधारलाई प्राथमिकता दिने नीति रहेको समेत स्पष्ट पारिएको छ।
कार्यक्रमका विज्ञ सल्लाहकार जीवनप्रभा लामाले कारवाही मात्र पर्याप्त नहुने भएकाले व्यवसायीलाई सचेत र जिम्मेवार बनाउने उद्देश्यले बुट क्याम्प सञ्चालन गरिएको बताउनुभयो। प्रशिक्षक नवीन कर्माचार्यले जैविक, रासायनिक र भौतिक जोखिमबाट बच्ने उपायबारे जानकारी दिँदै सुरक्षित भोजन तयारीमा जोड दिनुभयो।
त्यस्तै, डा. आलोक श्रेष्ठले खाद्य सामग्री भान्छामा प्रवेश गर्नु अघिदेखि नै स्वच्छ हुनुपर्ने आवश्यकता औंल्याउनुभयो। सहभागी व्यवसायीहरूले पनि कार्यक्रमलाई उपयोगी ठहर गरेका छन्।
महानगरभित्रका ५७ अस्पतालका ५९ क्यान्टिनबाट ७४ जनाको सहभागिता रहेको उक्त बुट क्याम्प अन्तरक्रियात्मक रूपमा सम्पन्न भएको थियो। सहभागीहरूले आफ्ना अनुभव, समस्या र अभ्यासबारे खुला छलफल गरेका थिए।
महानगरले यस्ता कार्यक्रममार्फत खाद्य व्यवसायलाई सुरक्षित, व्यवस्थित र स्वच्छ बनाउने अभियानलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ।












