पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोलमा रु १७ र डिजेलमा रु २५ बढ्यो
काठमाडौं- नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै जाँदा निगमलाई ठूलो घाटा व्यहोर्नु परेको भन्दै नयाँ मूल्य समायोजन गरिएको जनाएको हो।
निगमका अनुसार आज (बिहीबार) राति १२ः०० बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु १७ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु २५ ले मूल्य बढाइएको छ।
यस्तै, एलपी ग्यासमा प्रति सिलिन्डर रु १०० ले वृद्धि गरिएको निगमले जानकारी दिएको छ।
मूल्य समायोजनपछि पनि निगम अझै घाटामा रहने देखिएको छ। निगमका अनुसार हालको मूल्य कायम गर्दा पनि करिब रु १० अर्ब २१ करोड ९१ लाख घाटा हुने अनुमान गरिएको छ।
निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भएको निरन्तर वृद्धिका कारण आन्तरिक बजारमा मूल्य समायोजन गर्न बाध्य भएको जनाएको छ।














