उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता, रास्वपाको निर्णयले शक्ति सन्तुलन तय गर्ने
काठमाडौं।प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रियाअन्तर्गत आज उम्मेदवारी दर्ता हुँदैछ। संसद् सचिवालयले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि समय निर्धारण गरेको जनाएको छ।
तर, उपसभामुख पद कसको भागमा पर्ने भन्ने विषयमा दलहरूबीच अझै सहमति जुट्न सकेको छैन। सत्ता गठबन्धनभित्रै स्पष्ट निर्णय नहुँदा राजनीतिक अन्योल कायम छ। यसबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भूमिका निर्णायक बन्ने देखिएको छ।
संसदीय अंकगणितअनुसार रास्वपाले जसलाई समर्थन गर्छ, सोही उम्मेदवारको जित सुनिश्चितजस्तै हुने अवस्था छ। त्यसैले प्रमुख दलहरू रास्वपाको समर्थन तान्न आन्तरिक छलफलमा सक्रिय भएका छन्।
राजनीतिक स्रोतका अनुसार विभिन्न दलहरूबीच अन्तिम क्षणसम्म सहमतिको प्रयास जारी रहनेछ। यदि सहमति नजुटेमा प्रतिस्पर्धात्मक निर्वाचन हुने सम्भावना पनि उत्तिकै रहेको छ।
आजको उम्मेदवारी दर्ता प्रक्रियासँगै उपसभामुख चयनको समीकरण स्पष्ट हुने र त्यसले आगामी सत्ता राजनीति तथा शक्ति सन्तुलनमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ।












