संसदमा रास्वपाका यादवको ओलीविरुद्ध कडा टिप्पणी, ‘अपराधी अस्पतालको बेडमा’ – Sagarmathapana:: Online News Portal

संसदमा रास्वपाका यादवको ओलीविरुद्ध कडा टिप्पणी, ‘अपराधी अस्पतालको बेडमा’

   २०८२ चैत्र २६ गते  

काठमाडौं।प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम सुप्रभात यादव ले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध कडा अभिव्यक्ति दिएका छन्।

सदनमा बोल्दै यादवले अस्पतालमा उपचाररत ओलीलाई ‘अपराधी’को संज्ञा दिँदै तीव्र आलोचना गरे। उनले भने,

“जुन अपराधी कारागारभित्र हुनुपर्ने थियो, त्यो अहिले अस्पतालको बेडमा छ र त्यहाँबाट कुविचार यो सम्मानित सदनसम्म पठाउँदैछ।”

यादवले आफ्नो सम्बोधनका क्रममा जेन–जी आन्दोलनका माग, बलिदान र त्यसको ऐतिहासिक महत्वलाई स्मरण गर्दै वर्तमान सरकारलाई जिम्मेवार बन्न आग्रह गरे। उनले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उचित व्यवस्थापन र मृतक परिवारलाई न्याय दिन ढिलाइ भइरहेको भन्दै असन्तुष्टि जनाए।

“आजको सरकार त्यही रक्तरञ्जित आन्दोलनको बलिदानमाथि बनेको हो,” उनले भने, “घाइतेको रोजगारी र मृतक परिवारको न्याय कहिले सुनिश्चित हुन्छ?”

जेन–जी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री रहेका ओली र त्यतिबेलाका गृहमन्त्री रमेश लेखक लाई भदौ १४ गते बिहान पक्राउ गरिएको थियो। भदौ २३–२४ का घटनाको छानबिन गर्न गठित आयोगले उनीहरूलाई दोषी ठहर गरेपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो।

हाल ओली प्रहरी हिरासतमा रहेर अस्पतालमा उपचाररत छन्। सर्वोच्च अदालतले भने उनलाई बिहीबारसम्म हिरासतबाट मुक्त गर्न आदेश दिएको छ।

उक्त आन्दोलनका अभियन्तासमेत रहेका यादव पछि समानुपातिक प्रणालीमार्फत सांसद बनेका हुन्। उनले आफ्नो भनाइमा आन्दोलन न्याय, समानता र अधिकारका लागि भएको स्पष्ट पार्दै यसको महत्व कहिल्यै नबिर्सन आग्रह गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै