अटोमोबाइल क्षेत्रमा सुधारका लागि नाइमाका सुझाव, सरकार सकारात्मक
काठमाडौं।नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले अटोमोबाइल क्षेत्रमा व्यापक नीतिगत तथा प्रणालीगत सुधारको आवश्यकता औंल्याउँदै सरकारसमक्ष विभिन्न महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेको छ।
नाइमाका अध्यक्ष रितु सिंह वैद्य को नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सँग भेट गर्दै अटोमोबाइल क्षेत्रलाई विलासिता होइन, आवश्यकताका रूपमा मान्यता दिनुपर्नेमा जोड दिएको हो।


मुख्य मागहरू के-के छन्?
- स्थिर र पूर्वानुमानयोग्य नीतिगत वातावरण
- समग्र कर भार घटाउने तथा सरल कर संरचना
- सवारी खरिदमा ८०% कर्जा र २०% डाउन पेमेन्टसहित हायर पर्चेज व्यवस्था
- भन्सार प्रणालीमा स्पष्टता र एकरूपता
- डिजिटल प्रणालीको एकीकरण
- ‘मेक इन नेपाल’ अन्तर्गत एसेम्बलिङ उद्योग प्रवर्द्धन
जस्ता विषयहरू अघि सारेको छ।
नाइमाले भन्सार जाँचपासपछि पनि फरक व्याख्याका आधारमा बेरुजु उठ्ने प्रवृत्तिले व्यवसायमा अनिश्चितता सिर्जना गरेको भन्दै पारदर्शी र स्पष्ट प्रणाली आवश्यक रहेको जनाएको छ।

संस्थाले विद्युतीय सवारी साधनका लागि स्थिर र प्रोत्साहनमुखी नीति आवश्यक रहेको उल्लेख गर्दै हाइब्रिड सवारीको उचित वर्गीकरण गरी न्यायोचित कर प्रणाली लागू गर्नुपर्ने माग पनि राखेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नाइमाले उठाएका सुझावहरू सान्दर्भिक रहेको बताउँदै आगामी नीति तथा कार्यक्रम र बजेटमा समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य आधारस्तम्भ मान्दै सरकार निजी क्षेत्रमैत्री वातावरण बनाउन सकारात्मक रहेको जानकारी दिनुभयो।यसैबीच, नाइमाको टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्साल सँग पनि भेट गरेको छ।
मन्त्री लम्सालले अटोमोबाइल क्षेत्रले राजस्व, रोजगारी र आर्थिक गतिविधिमा पुर्याएको योगदानको प्रशंसा गर्दै करबाट उठेको रकमको निश्चित हिस्सा पुनः सोही क्षेत्रमा लगानी गर्ने विषयमा सरकार सकारात्मक रहेको बताउनुभयो।
नाइमा के हो?
नाइमा नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको छाता संस्था हो। यसले नीति सुधार, उद्योग प्रवर्द्धन र दिगो यातायात प्रणाली विकासमा सक्रिय भूमिका खेल्दै आएको छ। संस्थामा आबद्ध सदस्यहरूले राष्ट्रिय राजस्वमा महत्वपूर्ण योगदानका साथै ठूलो संख्यामा रोजगारी सिर्जना गरेका छन्।












