प्रतिनिधि सभाको बैठक बस्दै: प्रधानमन्त्री र अर्थमन्त्रीका महत्वपूर्ण प्रस्ताव पेश हुने
काठमाडौं।प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक आज दिउँसो १ बजेदेखि सञ्चालन हुने तय गरिएको छ।
आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, विभिन्न वार्षिक प्रतिवेदन पेश गर्ने तथा केही व्यवस्थापनसम्बन्धी कार्यसूची समावेश गरिएको छ। कार्यसूचीअनुसार सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र बैठकमा प्रस्तुत गर्नेछन्।
बैठकमा बालेन्द्र शाह ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेश गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी स्वर्णिम वाग्ले ले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्नेछन्। सो विधेयक पेश गर्ने कार्यसूची पनि आजकै बैठकमा समावेश गरिएको संसद सचिवालयले जनाएको छ।
संसदको आजको बैठकमा प्रस्तुत हुने यी एजेण्डाहरूलाई आर्थिक व्यवस्थापन, विकास वित्तको वैकल्पिक स्रोत परिचालन तथा सरकारको कार्यसम्पादनसँग जोडेर महत्वका साथ हेरिएको छ।












