उषा खड्गी प्रकरण: जीपीकी श्रीमती सविनाको प्रतिवाद, ‘द्वन्द्व मच्चाइएको हो’ भन्ने दाबी
काठमाडौं।जीपी तिमल्सिनाको पारिवारिक विवादमा नयाँ मोड आएको छ। पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गी द्वारा दिएको उजुरीपछि पक्राउ परेका जीपी तिमल्सिनाको पक्षबाट उनकी वर्तमान पत्नी सविना अधिकारीले सार्वजनिक रूपमा धारणा राखेकी छन्।
सविनाले उषा खड्गीले लगाएका आरोपहरूलाई अस्वीकार गर्दै उल्टै “द्वन्द्व सिर्जना गर्ने प्रयास भएको” दाबी गरेकी छन्। उनका अनुसार घटना भएको दिन आफू घरमै रहेर भारत जान तयारी गरिरहेकी थिइन्। सोही क्रममा घर अगाडि भएको सामान्य विवादलाई उषाले बढाइचढाइ गरेर प्रस्तुत गरेको आरोप उनले लगाइन्।
उनले भनिन् कि, “पहिलेदेखि नै सम्बन्धमा तनाव थियो, तर जीपीले चार वर्षसम्म बच्चाको भविष्यका लागि मिलाउने प्रयास गर्नुभयो।” सविनाको दाबी अनुसार डिभोर्सअघि पनि विभिन्न विवाद र बाहिरी व्यक्तिको हस्तक्षेप हुँदै आएको थियो।
सविनाले उषामाथि गम्भीर आरोप लगाउँदै भनिन् कि, “मिडियामार्फत चरित्र हत्या गर्ने र अफवाह फैलाउने काम भइरहेको छ।” साथै, उनले आफूहरूसँग सीसीटीभी र अडियो प्रमाण रहेको समेत बताइन्।
घरको स्वामित्व र आर्थिक जिम्मेवारीबारे पनि सविनाले स्पष्ट पार्दै भनिन् कि उक्त घर बैंक ऋणमा बनाइएको र अहिले पनि किस्ता तिर्दै आएको दाबी गरिन्। छोराछोरीको शिक्षादेखि घर खर्चसम्म सबै जिम्मेवारी जीपीकै खाताबाट भइरहेको उनको भनाइ छ।
उता, उषा खड्गीले भने आफूमाथि अभद्र व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्, जसका आधारमा प्रहरीले जीपीलाई नियन्त्रणमा लिएको थियो।
यस घटनाले पारिवारिक विवादलाई सार्वजनिक बहसको विषय बनाएको छ। अहिले दुवै पक्ष कानुनी प्रक्रियामा जाने तयारीमा रहेको बताइएको छ।












