लाइसेन्स छपाइ अभियान तीव्र: २४ घण्टाभित्रै प्रिन्ट गर्ने तयारी – Sagarmathapana:: Online News Portal

लाइसेन्स छपाइ अभियान तीव्र: २४ घण्टाभित्रै प्रिन्ट गर्ने तयारी

   २०८२ चैत्र २४ गते  

काठमाडौं।बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको नयाँ सरकारको लाइसेन्स छपाइ अभियान अहिले तीव्र गतिमा अघि बढिरहेको छ। सुरक्षण मुद्रण केन्द्रले अत्यावश्यकबाहेकका लाइसेन्स पनि ‘बल्क’मा छाप्न सुरु गरेको जनाएको छ।

केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गाना का अनुसार, यातायात व्यवस्था विभागबाट प्राप्त डाटाका आधारमा छपाइ कार्य अघि बढाइएको हो। “अहिलेसम्म करिब तीन लाख लाइसेन्सको डाटा प्राप्त भएको छ। दुई–तीन दिनअघि ९४ हजार लाइसेन्स प्रिन्ट गरिसक्यौं, आज थप ६८ हजार छाप्ने तयारीमा छौं,” उनले जानकारी दिए।

गत १२ कात्तिकमा केन्द्र र विभागबीच ६ महिनाभित्र १२ लाख लाइसेन्स छाप्ने सम्झौता भएको थियो। तर कच्चा पदार्थको अभाव र आवश्यक डाटा नपुग्दा पाँच महिनासम्म काम सुस्त बनेको थियो। अहिले भने आवश्यक सबै तयारी पूरा भइसकेको र सम्झौताअनुसार काम तीव्र गतिमा भइरहेको ढुङ्गानाले बताए।

यसैबीच, थप १७ लाख लाइसेन्स छपाइका लागि नयाँ सम्झौताको तयारी भइरहेको छ। “असार मसान्तसम्म बाँकी सबै लाइसेन्स छाप्ने लक्ष्य राखेका छौं,” उनले थपे।

यातायात व्यवस्था विभागका निर्देशक केशवराज खतिवडा का अनुसार, विभिन्न कार्यालयबाट प्राप्त डाटाअनुसार लाइसेन्स छापिएको छ। छपाइ भइसकेका लाइसेन्स सम्बन्धित कार्यालयमार्फत वितरण भइरहेको छ भने आवश्यक परे हुलाकमार्फत जिल्लामा पठाइँदैछ।

उता, सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिना ले विभागबाट डाटा प्राप्त भएको २४ घण्टाभित्रै लाइसेन्स प्रिन्ट गर्ने तयारी गरिएको बताएका छन्।

नयाँ सरकारको यस अभियानले लामो समयदेखि देखिएको लाइसेन्स वितरणको ढिलाइ अन्त्य गर्दै सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै