गृहमन्त्रीमाथि निष्पक्ष छानबिन अपरिहार्य: सत्य बाहिर आएपछि कोही नझुक्ने, नचुक्ने—सुनार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार ले संसद् र कार्यपालिकाको भूमिका स्पष्ट रूपमा फरक रहेको उल्लेख गर्दै दुवैले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्नुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद् र सरकारबीचको कार्यक्षेत्र बुझ्न जरुरी रहेको बताए।
उनले भने, “संसद् र सरकार फरक–फरक पाटो हुन् भन्ने बुझ्न आवश्यक छ। सरकारले आफ्नो ढंगले काम गरिरहेको छ। प्रधानमन्त्री धेरै नबोली लिखित रूपमा माफी माग्दै जनता र विशेषगरी दलित समुदायको जीवनस्तर उकास्न ठोस निर्णय ल्याउने प्रतिबद्धता जनाउनुभएको छ।”
सुनारले दलित समुदायको न्याय र हितका लागि सरकारले अघि बढाएको काममा आफ्नो पार्टीले पनि सुझाव दिएको जानकारी दिए। उनका अनुसार दलित आयोगलगायत सरोकारवाला निकायसँग समन्वय गरेर आवश्यक सुझावहरू प्रस्तुत गरिएको छ, र यो प्रक्रिया अझै सुरुवाती चरणमै रहेको छ।
यस्तै, गृहमन्त्रीमाथि उठेका प्रश्नबारे बोल्दै उनले निष्पक्ष छानबिन अपरिहार्य रहेको बताए। “मजबुत ढंगले छानबिन हुनुपर्छ र हुन्छ पनि। सत्यतथ्य बाहिर आएपछि कसैले पनि चुक्ने वा झुक्ने हुँदैन,” उनले स्पष्ट पारे।
उनको भनाइले संसद् र सरकारबीचको जिम्मेवारीको स्पष्टता, दलित समुदायको सवालमा प्रतिबद्धता तथा पारदर्शी छानबिनको आवश्यकता पुनः उजागर गरेको छ।












