इलाम गोल्डकपको तेस्रो संस्करण बैशाख ५ देखि
इलाम ।अन्तर्राष्ट्रिय आमन्त्रण इलाम गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण २०८३ साल बैशाख ५ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने भएको छ। आयोजक रेड हर्ष फुटबल क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो।
प्रतियोगितामा नेपाल, भारत र मलेसियाका गरी ८ टोलीको सहभागिता रहनेछ। इलामको ठूलो टुँडिखेलमा हुने खेलमा विदेशी टोलीतर्फ मलेसियाको एन पेनाङ एफसी र भारतको जर्जियन फुटबल क्लब कालेम्पोङ सहभागी हुनेछन्।
नेपालबाट भने मच्छिन्द्र फुटबल क्लब (काठमाडौं), न्यूरोड फुटबल क्लब, चितलाङ फुटबल क्लब, रोलिङ क्लब (झापा), फिदिम स्पोर्टिङ (पाँचथर) र आयोजक रेड हर्ष क्लब मैदानमा उत्रनेछन्।
खेल तालिका
बैशाख ५ – रेड हर्ष क्लब 🆚 जर्जियन एफसी कालेम्पोङ (उद्घाटन खेल)
बैशाख ६ – फिदिम स्पोर्टिङ 🆚 रोलिङ क्लब
बैशाख ७ – मच्छिन्द्र एफसी 🆚 एन पेनाङ एफसी
बैशाख ८ – न्यूरोड एफसी 🆚 चितलाङ एफसी
बैशाख ९–१० – सेमिफाइनल
बैशाख १२ – फाइनल

प्रतियोगितामा चर्चित नेपाली खेलाडी द्रोण थापासहित अन्य उत्कृष्ट खेलाडीहरूको प्रदर्शन हेर्न पाइने आयोजकले जनाएको छ।
प्रतियोगिता सम्पन्न गर्न करिब ७८ लाख १ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। खर्च व्यवस्थापनका लागि मुख्य प्रायोजक, संघसंस्था, स्थानीय तथा प्रदेश सरकार, एनआरएनए र अन्य दाताबाट सहयोग जुटाइनेछ।
एग्रो थाइफूड्सले यस वर्ष ३ लाख रुपैयाँ सहयोग गर्ने सहमति भएको छ, जसमा आगामी वर्षहरूमा रकम वृद्धि हुने सम्झौता गरिएको आयोजकले जनाएको छ।












