धौलागिरि–अन्नपूर्ण आरोहणका लागि ४४ जनाले लिए अनुमति
म्याग्दी।चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४ जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार म्याग्दीस्थित धौलागिरि गाउँपालिका–४ मा रहेको ८,१६७ मिटर अग्लो धौलागिरि हिमाल तथा अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने ८,०९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि उक्त सङ्ख्यामा आरोहीलाई अनुमति प्रदान गरिएको हो।
धौलागिरि हिमाल आरोहणका लागि दुई समूहका ८ महिलासहित १७ जनाले अनुमति लिएका छन्। त्यसैगरी अन्नपूर्ण हिमाल चढ्न चार समूहका ८ महिलासहित २७ जनाले अनुमति लिएको विभागले जनाएको छ।


आरोहण अनुमतिबाट सरकारले उल्लेख्य राजस्व समेत सङ्कलन गरेको छ। धौलागिरि हिमालबाट रु ७५ लाख ६४ हजार ६५० र अन्नपूर्ण हिमालबाट रु १ करोड २० लाख ४९ हजार १७५ रोयल्टी प्राप्त भएको शाखा अधिकृत शर्मिला बञ्जाडेले जानकारी दिएकी छन्।
उनका अनुसार यस वसन्त याममा अन्नपूर्ण र धौलागिरिसहित हालसम्म १२ वटा हिमाल आरोहणका लागि २४ समूहका १७० जनाले अनुमति लिँदा कुल रु १० करोड ८७ लाख ३० हजार राजस्व सङ्कलन भइसकेको छ। दैनिक रूपमा आरोहण अनुमति लिनेहरूको सङ्ख्या बढ्दै गएको पनि विभागले जनाएको छ।


गत शरदयाममा धौलागिरि आरोहणका लागि ३६ जनाले अनुमति लिएका थिए भने अन्नपूर्ण हिमालमा भने कसैले पनि अनुमति लिएका थिएनन्। यस्तै, गत वर्षको वसन्त याममा धौलागिरि आरोहणका लागि १५ जना र अन्नपूर्ण चढ्न ६६ जनाले अनुमति लिएका थिए।
हाल अन्नपूर्ण र धौलागिरि हिमालका आधार शिविरमा आरोही टोली पुगिसकेको छ र उनीहरूले आरोहणको तयारी सुरु गरिसकेका छन्।













