काठमाडौंमा ‘मञ्जुश्री ट्रेल रेस’ अप्रिल १७–१९ मा हुने
काठमाडौं।साहसिक खेल तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘मञ्जुश्री ट्रेल रेस’ अप्रिल १७ देखि १९ सम्म आयोजना हुने भएको छ । दौड चन्द्रगिरीको पातली वन रिसोर्टबाट सुरु भई काठमाडौं उपत्यकाभरि घुमेर पुनः सोही स्थानमा टुंगिनेछ ।
प्रतियोगितामा १०० माइल्स, ८० किमी, ५० किमी, २० किमी र १० किमी गरी पाँच विधा समावेश छन् । आयोजकका अनुसार यो प्रतियोगिता एसियाली ट्रेल मास्टर्सको छनोटका रूपमा समेत रहनेछ ।
मञ्जुश्रीको धार्मिक तथा ऐतिहासिक कथासँग जोडिएको यो दौडले काठमाडौं उपत्यकाको उत्पत्तिसँग सम्बन्धित सांस्कृतिक महत्व पनि झल्काउनेछ ।
आयोजकले प्रतियोगितामार्फत साहसिक तथा वातावरणमैत्री खेलको विकास, पर्यटन प्रवर्द्धन, नेपालको प्राकृतिक सौन्दर्य विश्वसामु प्रस्तुत गर्ने, स्थानीय धावकलाई सशक्त बनाउने तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ ।
पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष नारायण आचार्य, रेस डाइरेक्टर आशिष मिश्र, एम्बेस्डर रसिला तामाङ लगायतले कार्यक्रमबारे जानकारी दिएका थिए ।
तस्बिर:the Everest news.












