राम नाम सत्य’को ट्रेलर सार्वजनिक, युट्युब ट्रेन्डिङमा शीर्ष स्थान
काठमाडौं- आगामी चैत २७ गतेबाट सोलो रिलिजमा आउन लागेको नेपाली चलचित्र राम नाम सत्य को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार राजधानीस्थित एक कार्यक्रममार्फत ट्रेलर सार्वजनिक गरिएको हो।
सार्वजनिक भएको २४ घण्टा नपुग्दै ट्रेलर युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पुग्न सफल भएको निर्माण टिमले जनाएको छ। ट्रेलरमा विराज भट्ट को दमदार एक्सन, सुशील श्रेष्ठ र दिव्या रायमाझी बीचको प्रेमकथा तथा सस्पेन्सपूर्ण दृश्यहरू प्रस्तुत गरिएको छ।
चलचित्रमा आयुष सिंह ठकुरी को विशेष भूमिका रहेको छ। साथै, चलचित्रमा समावेश ‘हुम्लाको सिमी’ गीत यतिबेला दर्शकमाझ लोकप्रिय बन्दै गएको छ।
माइकल चन्द को कथा तथा निर्देशन रहेको यस चलचित्रमा उपेन्द्र शाही र स्वेता विमली को लगानी रहेको छ। निर्माण पक्षले चलचित्रमा एक्सन, प्रेम, सस्पेन्स र पारिवारिक कथालाई समेटिएको जनाउँदै दर्शकको राम्रो प्रतिक्रिया पाउने विश्वास व्यक्त गरेको छ।












