तास खेल्दै गर्दा विराटनगरका ९ व्यापारी पक्राउ
विराटनगर। तास खेलिरहेको अवस्थामा विराटनगरका नौ जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।
मोरङ प्रहरीले शनिबार राति छापा मार्दै विराटनगरस्थित मनोज राठीको घरबाट उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेहरूमा शेरसिंह दुगड, राजबिहारी बिहानी, पवन शर्मा, बासु राठी, बलराम खत्री, महेश राठी, बजरङ्ग राठी र विनीतलाल लालबनी रहेका छन्। उनीहरूमध्ये शेरसिंह दुगड विराटनगर–२ का वडा सदस्यसमेत हुन्, जो स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट निर्वाचित भएका थिए।
प्रहरीका अनुसार उनीहरूको साथबाट करिब एक लाख रुपैयाँ नगदसमेत बरामद गरिएको छ। तास खेलिरहेको अवस्थामा नै उनीहरूलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिएका छन्।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई आइतबार म्याद थप गरी अनुसन्धान अगाडि बढाइने बताइएको छ।












