डेटिङ एपको दुरुपयोगबारे चेतना फैलाउँदै नाटक मञ्चन – Sagarmathapana:: Online News Portal

डेटिङ एपको दुरुपयोगबारे चेतना फैलाउँदै नाटक मञ्चन

   २०८२ चैत्र १० गते  

काठमाडौं।काठमाडौँ महानगरपालिका–९, गंगबु भण्डारी गाउँमा अवस्थित नेपाल मातृगृह र नेपाल नाट्यशालाको संयुक्त प्रस्तुतिमा डेटिङ तथा सामाजिक सञ्जाल एपहरूको दुरुपयोगबारे सचेतना फैलाउने उद्देश्यले नाटक मञ्चन गरिएको छ।

नाटकमार्फत अभिभावक तथा विद्यार्थीहरूलाई अनलाइन प्लेटफर्म प्रयोग गर्दा हुनसक्ने जोखिम, ठगी तथा दुरुपयोगका घटनाबारे जानकारी दिइएको थियो। विशेषगरी अपरिचित व्यक्तिसँग सजिलै विश्वास गर्दा उत्पन्न हुनसक्ने समस्या र त्यसबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे सन्देश प्रस्तुत गरिएको थियो।

नाटकको कथावस्तु एक परिवार वरिपरि केन्द्रित छ, जहाँ बुबा, आमा र छोरी तीनैजना फरक–फरक रूपमा डेटिङ एप प्रयोग गरिरहेका हुन्छन्। उनीहरू अनलाइन चिनजान भएका व्यक्तिसँग कुराकानीमा व्यस्त हुँदा पारिवारिक सम्बन्ध र छोरीको पढाइमा समेत असर पर्न थाल्छ।

कथामा देखाइएअनुसार, एक व्यक्तिले विभिन्न नक्कली प्रोफाइल प्रयोग गरी एउटै परिवारका सदस्यहरूसँग फरक–फरक रूपमा सम्पर्क गरिरहेको हुन्छ। उसले कहिले युवक त कहिले युवती बनेर विश्वास जित्ने प्रयास गर्छ। अन्ततः छोरीसँग भेट्ने बहानामा बोलाएर अनुचित व्यवहार गर्न खोज्दा घटनाको पर्दाफास हुन्छ। त्यसपछि अभिभावकको सतर्कतासँगै उक्त व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइन्छ।

नाटकले डिजिटल प्लेटफर्मको गलत प्रयोगले पारिवारिक सम्बन्ध बिगार्न सक्ने र व्यक्तिलाई जोखिममा पार्न सक्ने सन्देश दिएको छ। साथै, अनलाइनमा चिनजान भएका व्यक्तिप्रति सतर्क रहन र व्यक्तिगत जानकारी सुरक्षित राख्न आवश्यक रहेको कुरामा जोड दिइएको छ।

कार्यक्रमले अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य ध्यान आकर्षित गरेको आयोजकले जनाएको छ। नाटकमा निर्मल साउद, कविता खड्का, सोनी कडेल, श्रद्धा, अजय लामा, सदिक्षा बसेल, रोशीका मगर, लिजा मगर, अजय घलान, विकास लामा, सुदिप, सुष्मा बमजन तामाङ, महेन्द्र थापा र अन्जु बराललगायत कलाकारहरूको अभिनय रहेको छ।

लेखन तथा निर्देशन सौभाग्य सिंह (शोभा) राई सहयोगमा निर्मल साउदको कला निर्देशनमा तयार पारिएको उक्त नाटक सामाजिक सञ्जालको प्रभावबारे जनचेतना फैलाउने लक्ष्यसहित मञ्चन गरिएको हो।

यस्ता जनचेतनामूलक कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर रूपमा प्रस्तुत गरिने संयोजकले जानकारी दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै