प्रतिनिधिसभा निर्वाचनका लागि किमाथांका नाका ७२ घण्टा बन्द
संखुवासभा।आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै किमाथांका नाका ७२ घण्टाका लागि पूर्ण रूपमा बन्द गरिएको छ। चीनसँग जोडिएको उक्त उत्तरी नाका सोमबार राति १२ बजेदेखि बिहीबार राति १२ बजेसम्म बन्द रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार निर्वाचनको समयमा सुरक्षा संवेदनशीलता बढ्ने र अवाञ्छित गतिविधि हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नाका बन्द गर्ने निर्णय गरिएको हो।
प्रशासनले नाकासहित आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक समन्वय र निगरानी बढाइएको समेत जानकारी दिइएको छ।
व्यापारिक दृष्टिले महत्वपूर्ण मानिने किमाथांका नाका बन्द हुँदा केही समयका लागि आवतजावत र सीमापार व्यापार प्रभावित हुने भए पनि निर्वाचन सम्पन्न भएपछि नियमित सञ्चालनमा ल्याइने प्रशासनले स्पष्ट पारेको छ।












