काठमाडौँ–८ मा राजेश शाक्यको घरदैलो,यट्खा बहालमा स्थानीयसँग सुझाव संकलन:विकास र सम्पदा संरक्षणलाई प्राथमिकता दिने – Sagarmathapana:: Online News Portal

काठमाडौँ–८ मा राजेश शाक्यको घरदैलो,यट्खा बहालमा स्थानीयसँग सुझाव संकलन:विकास र सम्पदा संरक्षणलाई प्राथमिकता दिने

   २०८२ फाल्गुन २ गते  

काठमाडौँ।काठमाडौँ क्षेत्र नं. ८ का उम्मेदवार राजेश शाक्यले यट्खा बहालमा स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै क्षेत्रका समस्या, सुझाव र गुनासाहरू सुनेका छन्।कार्यक्रममा स्थानीयले पूर्वाधार सुधार, सम्पदा संरक्षण र वातावरणीय व्यवस्थापनसम्बन्धी विभिन्न विषय उठाएका थिए।ती मुद्दाहरूलाई गम्भीरतापूर्वक लिँदै उनले व्यवहारिक र समाधानमुखी पहल अघि बढाउने प्रतिबद्धता जनाए।

भेटघाटका क्रममा शाक्यले आफू बागमती प्रदेशका माननीय सभासद रहँदा यट्खा बहालमा परम्परागत ‘तेलिया इट्टा’ छाप्ने कार्य सम्पन्न गराएको स्मरण गरे।उनले प्राकृतिक तथा मौलिक सामग्री प्रयोगले सम्पदा जोगाउनुका साथै वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने उल्लेख गर्दै आगामी विकास योजनामा पनि यस्ता दिगो अभ्यासलाई निरन्तरता दिने बताए।

कार्यक्रममा काठमाडौँका पूर्वमेयर तथा निर्वाचन परिचालन संयोजन समितिका संयोजक विद्या सुन्दर शाक्यको समेत उपस्थिति रहेको थियो। उनले क्षेत्र नं. ८ मा भएका विकास कार्यलाई निरन्तरता दिन सक्षम नेतृत्व आवश्यक रहेको बताउँदै प्रत्यक्ष र समानुपातिक दुवैमा नेकपा एमालेलाई समर्थन गर्न स्थानीयसँग आग्रह गरे।

उनले विगतमा सम्पन्न सम्पदा संरक्षण, सडक स्तरोन्नति र सार्वजनिक स्थल व्यवस्थापनका कामहरू उल्लेख गर्दै योजनाबद्ध र दीर्घकालीन विकासका लागि राजेश शाक्य उपयुक्त उम्मेदवार भएको धारणा व्यक्त गरे।

यस्तै,यट्खा बहाल संरक्षण समितिका अध्यक्ष तेज रत्न ताम्राकारले बहाल क्षेत्रमा तेलिया इट्टा प्रयोग गरी सम्पन्न कार्यप्रति धन्यवाद व्यक्त गर्दै अब त्यसको “गुन तिर्ने बेला आएको” बताए।उनले बहालबासीलाई विकासको निरन्तरताका लागि शाक्यलाई सहयोग गर्न अपिल गरे।

उम्मेदवार शाक्यले स्थानीयको भरोसा र सहभागितालाई केन्द्रमा राखेर पारदर्शी, दिगो तथा जनअपेक्षाअनुसारको विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।साथै काठमाडौँका सांस्कृतिक तथा ऐतिहासिक सम्पदालाई संरक्षण गर्दै आधुनिक विकासलाई सन्तुलित रूपमा अघि बढाउने लक्ष्यसमेत व्यक्त गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै