पूर्वमन्त्री सुदन किराती चुनावी दौडबाट बाहिरिए, हर्क साम्पाङ र ध्रुव राईलाई समर्थन गर्ने घोषणा
काठमाडौं।पूर्वमन्त्री सुदन किरातीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का तर्फबाट सुनसरी क्षेत्र नं. १ र भोजपुरबाट सिफारिस भएका किरातीले सोमबार सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै चुनावी प्रतिस्पर्धाबाट अलग हुने निर्णय सार्वजनिक गरेका हुन् ।

किरातीले व्यक्तिगत महत्वाकांक्षाभन्दा जनताको हित र वैकल्पिक राजनीतिको सुदृढीकरणलाई प्राथमिकता दिँदै सुनसरी क्षेत्र नं. १ बाट हर्क साम्पाङलाई तथा भोजपुरबाट ध्रुव राईलाई सहयोग गर्ने स्पष्ट पारेका छन्।उनको यो निर्णयलाई राजनीतिक वृत्तमा ‘Bold decision’ का रूपमा हेरिएको छ ।
सुदन किरातीले अपिलमा भनेका छन्, “परिवर्तनका लागि इमानदार र जनमुखी नेतृत्व आवश्यक छ । त्यसका लागि म स्वयं उम्मेदवार नबनी सही पात्रलाई सहयोग गर्ने निष्कर्षमा पुगेको हुँ ।”
उनको यो कदमले वैकल्पिक र स्वतन्त्र राजनीतिक शक्तिहरूलाई थप ऊर्जा मिल्ने विश्वास गरिएको छ । साथै, स्वार्थभन्दा माथि उठेर साझा लक्ष्यका लागि गरिएको निर्णय भएकाले किरातीको कदमलाई स्वागतयोग्य निर्णयका रूपमा लिइएको छ ।












