खोटाङको फुटबल इतिहासमा नयाँ अध्याय : ‘प्रभुराम राई आमन्त्रित कप’को खेल तालिका र ट्रफी अनावरण – Sagarmathapana:: Online News Portal

खोटाङको फुटबल इतिहासमा नयाँ अध्याय : ‘प्रभुराम राई आमन्त्रित कप’को खेल तालिका र ट्रफी अनावरण

   २०८२ माघ २ गते  

खोटाङमा हालसम्मकै सर्वाधिक पुरस्कार राशीको ‘प्रभुराम राई आमन्त्रित कप फुटबल प्रतियोगिता २०८२’ सुरु हुँदै

खोटाङ।खोटाङ जिल्लाकै इतिहासमा हालसम्मकै सर्वाधिक पुरस्कार राशीको ‘प्रभुराम राई आमन्त्रित कप फुटबल प्रतियोगिता २०८२’ को खेल तालिका सार्वजनिक तथा ट्रफी अनावरण गरिएको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ स्थित वडा कार्यालय बुईमामा बुधबार (पुष ३० गते) एक विशेष कार्यक्रमबीच खेल तालिका सार्वजनिक र ट्रफी अनावरण गरिएको हो । जिल्ला फुटबल संघ खोटाङका उपाध्यक्ष उद्धव राईले प्रतियोगिताको आधिकारिक खेल तालिका सार्वजनिक गर्नुभएको थियो।

बुइपा–११ स्पोट्र्स क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा खोटाङ जिल्लाभित्र र बाहिरका गरी जम्मा १० टिमको सहभागिता रहनेछ ।

सार्वजनिक खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक बुइपा–११ स्पोट्र्स क्लब र ऐसेलुखर्क गाउँपालिका टिमबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी खाराम्बु स्पोट्र्स क्लब खार्मी र खोटाङ फुटबल एकेडेमीबीच अर्को खेल हुनेछ ।

मानेभञ्ज्याङ फुटबल क्लब ओखलढुंगा, सृजना युवा क्लब धरान, नेर्पा स्पोट्र्स क्लब नेर्पा, केपिलासगढी गाउँपालिका टिम, गछिया युवा क्लब मोरङ र रणभिम गण मुडे ब्यारेक भने सिधै क्वाटरफाइनल चरणबाट प्रतिस्पर्धामा उत्रिनेछन् ।

कार्यक्रमकै अवसरमा प्रतियोगिताका विजेता तथा उपविजेताले प्राप्त गर्ने ट्रफी पनि अनावरण गरिएको छ । समाजसेवी प्रभुराम राईले करिब १५ केजी तौलको आकर्षक ट्रफी अनावरण गर्नुभएको हो ।

विजेता टिमले ट्रफी जितेपछि चाहेमा ट्रफी फिर्ता गरी एक लाख रुपैयाँ नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । यसबारे जानकारी दिँदै प्रायोजक परिवारका कान्छा छोरा पाण्डप राईले भन्नुभयो,

“विजेता टिमले ट्रफी जितिसकेपछि चाहेको खण्डमा त्यसलाई एक लाख रुपैयाँ नगदमा रूपान्तरण गर्न सक्ने व्यवस्था गरिएको छ।”

यसै अवसरमा बुइपा–११ फुटबल क्लबका गोलरक्षक नबिन पोखरेललाई नगदसहित सम्मान गरिएको छ । ‘प्रभुराम राई आमन्त्रित कप’ कार्यक्रमका क्रममा प्रभुराम राईका कान्छा छोरा पाण्डप राईले पोखरेललाई नगद प्रदान गर्दै सम्मान गर्नुभएको हो । खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उज्ज्वल भविष्यको शुभकामना सहित सम्मान गरिएको आयोजकले जनाएको छ ।

‘प्रभुराम राई आमन्त्रित कप’ पूर्व समाजसेवी तथा पूर्व गोर्खा सैनिक ८२ वर्षीय प्रभुराम राईको सम्मानमा उहाँकै नामबाट राखिएको हो । जीवनभर खेलकुदप्रति गहिरो रुचि राख्दै खेल क्षेत्रको विकास र प्रोत्साहनमा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएका राईको सपना साकार पार्ने उद्देश्यले प्रभुराम राई परिवारको प्रायोजनमा प्रतियोगिता आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रभुराम राईले भन्नुभयो,

“बुईपाले फुटबल यात्रामा पहिलो पाइला चालिसकेको छ । अब गाउँबाट सुरु भएको खेललाई राष्ट्रले आत्मसात् गर्दै खेल क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्ने समय आएको छ । गाउँबाट सुरु भएको खेलले नै देशको पहिचान बनाउँछ भन्ने विश्वासका साथ यो पहल गरिएको हो।”

प्रायोजक परिवारका जेठा छोरा तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का वडाध्यक्ष दिनेश कुमार राईले भन्नुभयो,

“यस्ता प्रतियोगिताले खोटाङको फुटबल क्षेत्रलाई थप संगठित, प्रतिस्पर्धात्मक र सशक्त बनाउनेछ । यसले स्थानीय खेलाडीलाई जिल्लामै प्रतिभा देखाउने अवसर दिनुका साथै बाहिरी टिमसँग प्रतिस्पर्धा गर्ने आत्मविश्वास पनि बढाउनेछ।”

त्यस्तै प्रायोजक परिवारका कान्छा छोरा पाण्डप राईले भन्नुभयो,

“मेरो खेल जीवनको प्रत्येक पाइला बुवाकै आशीर्वाद, प्रेरणा र हौसलाबाट सुरु भएको हो । उहाँको सपना केवल प्रतियोगिता आयोजना गर्नु होइन, खोटाङको फुटबल भविष्य निर्माण गर्नु हो, र हामी त्यो सपना साकार पार्न प्रतिबद्ध छौँ।”

बुइपा–११ फुटबल क्लबका सचिव रोशन राईका अनुसार प्रभुराम राई परिवारबाट खोटाङको फुटबल क्षेत्रमा निरन्तर लगानी, सहयोग र हौसला प्राप्त हुँदै आएको छ । यस्ता योगदानले जिल्लाको फुटबललाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

आउँदो माघ ७ गतेदेखि ११ गतेसम्म बुइपास्थित एलम्बर रंगशालामा सञ्चालन हुने प्रतियोगिता ए–इलेभेन साइड खुला पुरुष फुटबल विधामा आयोजना गरिनेछ ।

प्रतियोगितामा

– प्रथम पुरस्कार: ३ लाख रुपैयाँ

– दोस्रो पुरस्कार: १ लाख ५१ हजार रुपैयाँ

– फाइनलिस्ट दुई टिम: जनही ५० हजार ९५० रुपैयाँ

त्यसैगरी उत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ, विधागत पुरस्कार ६ जनालाई जनही १५ हजार ९१५ रुपैयाँ, तथा म्यान अफ द म्याच ९ जनालाई जनही २,५०० रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । यो पुरस्कार राशि खोटाङ जिल्लामै हालसम्मकै सर्वाधिक रहेको बताइएको छ।सगरमाथापानाका लागि खोटाङ संवाददाता

तस्बिर :दिनेश राईको फेसबुकबाट साभार

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै