काठमाडौंको टुँडिखेलमा पुस ३० र माघ १ गते थारु राष्ट्रिय माघी महोत्सव–२०८२ हुने
काठमाडौं।थारु कला, संस्कृति र पहिचानको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यसहित थारु राष्ट्रिय माघी महोत्सव–२०८२ आगामी पुस ३० र माघ १ गते (बुधबार र बिहीबार) काठमाडौंको टुँडिखेलमा आयोजना हुने भएको छ।
‘थारु कला संस्कृति हाम्रो पहिचान, यसको संरक्षण र संवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नारासहित थारु कल्याणकारिणी सभा केन्द्रीय समितिको संयोजनमा ३० वटा थारु संघ–संस्थाको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो।

महोत्सव मूल आयोजक समितिका संयोजक प्रेमीलाल चौधरीका अनुसार माघी पर्व थारु समुदायको महान पर्व मात्र नभई नयाँ वर्षको सुरुआत, सामाजिक एकता, स्वतन्त्रता र आत्मपहिचानको प्रतीक हो। उनले थारु समुदायले मेचीदेखि महाकालीसम्म विभिन्न नाम र परम्पराअनुसार माघी पर्व मनाउँदै आएको बताए।
महोत्सवमा थारु समुदायका मौलिक संस्कृति झल्कने सांस्कृतिक झाँकी, नृत्य तथा गीत प्रस्तुति, थारु खानपान प्रदर्शनी, हस्तकला तथा पुस्तक प्रदर्शनी, मोटरसाइकल ¥याली, ‘जिता मर्ना’ कार्यक्रम तथा विभिन्न क्षेत्रमा योगदान पुर्याएका थारु व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम समावेश गरिनेछ।

थारु समुदायका परम्परागत परिकार ढिक्री, खिचरी, अन्डिक भात, तिलको लड्डु, जाँड, माछा, सुँगुरको मासु, सिधरा, आलु–सिन्की, काथ्या रोटीलगायत परिकार महोत्सवमा सर्वसुलभ मूल्यमा उपलब्ध हुने आयोजकले जनाएको छ।
महोत्सवमा करिब १०० वटा स्टल रहनेछन् भने थरुहट तराईका विभिन्न जिल्लाबाट मघौटा, सखिया, झुमा, हुर्दगंवा, होरी, बडोनाचलगायत दुई दर्जनभन्दा बढी सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिनेछ।
माघ १ गते दिउँसो १२ बजे नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा महोत्सवको भव्य उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। महोत्सव सफल बनाउन करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ।
प्रचार–प्रसारका लागि गोरखापत्रको ‘नयाँ नेपाल’ थारु भाषा पृष्ठसहित विभिन्न अनलाइन तथा डिजिटल मिडियालाई आधिकारिक मिडिया बनाइएको छ। आयोजक समितिले महोत्सवलाई सभ्य र भव्य बनाउन सञ्चारकर्मी, आदिवासी जनजाति, युवा, महिला, विद्यार्थी, व्यवसायी तथा सर्वसाधारणलाई सहभागिताका लागि आह्वान गरेको छ।












