कोशी प्रदेशमै पहिलोपटक विशेषज्ञ सेवा सहितको घुम्ती अस्पताल सञ्चालनमा
झापा।कोशी प्रदेश सरकारद्वारा नेपालमै पहिलोपटक विशेषज्ञ सेवा सहितको घुम्ती अस्पताल आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
अत्याधुनिक सुविधासम्पन्न बसमार्फत सञ्चालन हुने यस घुम्ती अस्पतालमा विशेषज्ञ चिकित्सक, स्वास्थ्य प्राविधिक तथा आधुनिक मेडिकल उपकरणको व्यवस्था गरिएको छ। यसअन्तर्गत रेडियोलोजी, प्याथोलोजी सेवा, साना शल्यक्रिया (माइनर अपरेसन) लगायतका स्वास्थ्य सेवा सर्वसाधारणको घरदैलोमै पुर्याउने लक्ष्य लिइएको छ।


घुम्ती अस्पताल सेवाको शुभारम्भ झापा जिल्लाको कमल गाउँपालिकास्थित नगर अस्पताल प्राङ्गणमा गरिएको हो। सो अवसरमा सयौँ सर्वसाधारणको सहभागितामा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो।
प्रदेश सरकारको यो पहलले दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकहरूलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास लिइएको छ।
यस महत्त्वपूर्ण कार्यलाई सफल बनाउन अहोरात्र खटिएर भूमिका निर्वाह गर्ने कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय तथा सम्बन्धित सम्पूर्ण टिमप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ। साथै, घुम्ती अस्पताल सेवाको निरन्तरता र उच्च सफलताको कामना समेत गरिएको छ।














