अनलाइन मिडिया एसोसिएसन नेपालको दोस्रो वार्षिक साधारणसभा धरानमा सम्पन्न – Sagarmathapana:: Online News Portal

अनलाइन मिडिया एसोसिएसन नेपालको दोस्रो वार्षिक साधारणसभा धरानमा सम्पन्न

   २०८२ पुष २३ गते  

धरान।डिजिटल मिडिया तथा अनलाइन सञ्चारकर्मीहरूको साझा संस्था अनलाइन मिडिया एसोसिएसन नेपाल को दोस्रो वार्षिक साधारणसभा धरान–उपमहानगरपालिका–१५ स्थित चिन्डे डाँडामा भव्य रूपमा सम्पन्न भएको छ ।

संस्थापक अध्यक्ष स्वर्णिमहाङ फोम्बो को अध्यक्षतामा सम्पन्न साधारणसभा एसोसिएसन स्थापनापछिको दोस्रो साधारणसभा हो । पोर्टल समाचार र युट्युबमार्फत सञ्चालित डिजिटल मिडियालाई एकीकृत गर्दै अघि बढ्ने उद्देश्यसहित स्थापना भएको एसोसिएसन धरान उपमहानगरपालिकामा आधिकारिक रूपमा दर्ता भएको संस्था हो ।

सभामा पछिल्लो समय केही व्यक्तिले “एक व्यक्ति, एक संस्थाको मात्रै भिडियो समाचार प्रसारण गरिएको” भन्ने आरोप लगाइरहेको विषयमा गम्भीर छलफल गरिएको थियो । छलफलका क्रममा आगामी दिनमा समाचारलाई समावेशी, सन्तुलित र जिम्मेवार ढंगले प्रसारण गर्ने निष्कर्ष निकालिएको छ ।

त्यसैगरी, संस्थाका सदस्यहरू दुर्घटना, दुःख वा बिरामी पर्दा उपचार सहयोगका लागि कल्याणकारी कोष स्थापना गर्ने निर्णय समेत सभाले गरेको छ । भिडियो सामग्रीसँगै लिखित समाचारलाई समेत प्राथमिकता दिँदै यसअघि निर्माण गरिएको संस्थाको वेबसाइटलाई परिमार्जन गरी टेक्स्ट न्युज सेवा तत्काल सञ्चालनमा ल्याउने निर्णय भएको छ ।

सभामा सल्लाहकारद्वय रोहित राई र भैरव आङ्ला ले शुभकामना मन्तव्य राख्दै अनलाइन मिडियाले अन्य संघ–संस्थाका गतिविधिलाई पनि समावेशी र सन्तुलित रूपमा प्रकाशन–प्रसारण गर्नुपर्ने सुझाव दिए । उनीहरूले भिडियो सामग्रीलाई टिभी रिपोर्टिङको मापदण्डअनुसार प्रस्तुत गर्न तथा वेबसाइटमार्फत समाचार प्रकाशन गर्दा संस्थाको विश्वसनीयता अझ बढ्ने बताए । साथै, निर्वाचनको समय नजिकिँदै गर्दा उम्मेदवारहरूसँग साक्षात्कार कार्यक्रम सञ्चालन गर्न सके प्रभावकारी हुने सुझाव पनि दिएका थिए ।

सभामा कोषाध्यक्ष र सचिवले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमाथि छलफल पश्चात् दुवै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै