कांग्रेस–एमाले चुनावी तालमेल अन्तिम चरणमा,ओलीलाई सिट बाँडफाँटको पूर्ण जिम्मा – Sagarmathapana:: Online News Portal

कांग्रेस–एमाले चुनावी तालमेल अन्तिम चरणमा,ओलीलाई सिट बाँडफाँटको पूर्ण जिम्मा

   २०८२ पुष २३ गते  

काठमाडौँ।प्रमुख प्रतिपक्षी नेकपा (एमाले) प्रतिनिधि सभा निर्वाचनको तयारीमा औपचारिक रूपमा प्रवेश गरेको छ । निर्वाचन हुनै नसक्ने दाबी गर्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले नै अब पार्टी पंक्ति र कार्यकर्तालाई चुनावी तयारीमा जुट्न निर्देशन दिएका छन् ।

मंगलबार बसेको एमाले सचिवालय बैठकले निर्वाचन केन्द्रित दुई महत्वपूर्ण समिति गठन गर्दै चुनावी अभियानको खाका कोरेको हो । अध्यक्ष ओलीको संयोजकत्वमा ‘घोषणापत्र मस्यौदा समिति’ गठन गरिएको छ, जसले आगामी निर्वाचनका राजनीतिक एजेन्डा, नीति र कार्यक्रम तय गर्नेछ ।

घोषणापत्र मस्यौदा समितिमा उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहने निर्णय भएको छ ।

त्यसैगरी, निर्वाचन अभियानलाई संगठनात्मक रूपमा परिचालन गर्न उपाध्यक्ष थापा संयोजक रहेको ‘निर्वाचन परिचालन कमिटी’ गठन गरिएको छ । कमिटीमा विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल र भिष्म अधिकारी सदस्य छन् ।

सचिवालय बैठकमा अध्यक्ष ओलीले देशभर एकै चरणमा प्रतिनिधि सभा निर्वाचन हुन नसक्ने सम्भावना औँल्याउँदै खण्ड–खण्डमा निर्वाचन हुनसक्ने बताएका छन् । उनले त्यसअनुसार पार्टी पंक्ति मनोवैज्ञानिक रूपमा तयार रहनुपर्नेमा जोड दिएका छन् ।

एमाले उपमहासचिव लेखराज भट्टका अनुसार बाह्य रूपमा निर्वाचनको वातावरण बनिसकेको निष्कर्षसहित नेतृत्वले निर्वाचनलाई ‘आन्दोलनकै रूपमा’ लिनुपर्ने धारणा अघि सारेको छ ।

यसैबीच, पूर्व सत्ता सहयात्री नेपाली कांग्रेससँग चुनावी तालमेलबारे पनि एमालेले रणनीतिक छलफल अघि बढाएको छ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनदेखि नै कांग्रेससँग सहकार्य गर्ने तयारी एमालेले थालेको हो ।

सचिवालय बैठकमा प्रत्येक प्रदेशबाट एक–एक जना उम्मेदवार एमाले र कांग्रेसबाट रहने गरी तालमेल गर्ने विकल्पमाथि छलफल भएको भट्टले जानकारी दिए । कांग्रेससँग सिट बाँडफाँट र उम्मेदवार टुंग्याउने सम्पूर्ण जिम्मेवारी अध्यक्ष ओलीलाई दिइएको छ ।

कांग्रेससँगको औपचारिक सहमति अझै अन्तिम निष्कर्षमा नपुगेकाले थप संवाद र समन्वयका लागि ओलीलाई अग्रसर हुने जिम्मा दिइएको एमालेले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै