हलेसी तुवाचुङमा पाठेघर खसेका महिलाका लागि निःशुल्क शल्यक्रिया कार्यक्रम – Sagarmathapana:: Online News Portal

हलेसी तुवाचुङमा पाठेघर खसेका महिलाका लागि निःशुल्क शल्यक्रिया कार्यक्रम

   २०८२ पुष २३ गते  

खोटाङ।हलेसी तुवाचुङ नगरपालिकाले पाठेघर खसेको समस्याबाट पीडित २२ जना महिलाको निःशुल्क शल्यक्रिया गरिदिने भएको छ। नगरपालिका–७ महादेवस्थान र नगरपालिका–३ च्यास्मिटार क्षेत्रका महिलालाई लक्षित गर्दै शल्यक्रियाको तयारी गरिएको हो।

नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारी विवेक पराजुलीका अनुसार स्वास्थ्य चौकी महादेवस्थान र स्वास्थ्य चौकी च्यास्मिटारमा आयोजित महिलाको प्रजनन रुग्णता सम्बन्धी स्क्रिनिङ शिविरबाट पाठेघर खसेका २२ जना महिलाको पहिचान गरिएको हो।

उक्त स्क्रिनिङ शिविरमा २६ जना महिलामा पाठेघरको मुखको क्यान्सर (VIA पोजेटिभ) देखिएको स्वास्थ्य शाखाले जनाएको छ। नगरपालिकाको व्यवस्थापन तथा सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा महादेवस्थान स्वास्थ्य चौकीमा पुस २० गते र च्यास्मिटार स्वास्थ्य चौकीमा पुस २१ गते शिविर सञ्चालन गरिएको थियो।

शिविरमार्फत कुल ४५५ जनालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको थियो, जसमा सुगर परीक्षण समेत गरिएको थियो। पहिचान भएका २२ जना महिलालाई आवश्यक सम्पूर्ण व्यवस्थापन मिलाएर चाँडै शल्यक्रियाका लागि लगिने नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार विगत तीन वर्षयता पाठेघर खसेका ६४ जना महिलामध्ये हालसम्म ४१ जनाको सफल शल्यक्रिया गरिसकिएको छ। बाँकी महिलाहरूमा उच्च रक्तचाप र मधुमेह (सुगर) जस्ता स्वास्थ्य समस्या देखिएकाले तत्काल शल्यक्रिया गर्न नसकिएको जानकारी दिइएको छ।

नगरपालिकाले महिलाको स्वास्थ्य सुधारलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै