धार्मिक–सांस्कृतिक बरुण खोला जलविद्युत् परियोजना विवाद चर्किँदै – Sagarmathapana:: Online News Portal

धार्मिक–सांस्कृतिक बरुण खोला जलविद्युत् परियोजना विवाद चर्किँदै

   २०८२ पुष २२ गते  

निमा पोङ्सुवा,
संखुवासभा-धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बरुण खोला जलविद्युत् परियोजनालाई लिएर विवाद चर्किँदै गएको छ। मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र आवश्यक अनुमति, सहमति र सम्झौता बिना कामकारबाही अघि बढाइएको आरोप लागेपछि निकुञ्ज कार्यालयले सत्यतथ्य बुझ्न निर्देशन दिएको छ।

मकालु बरुण राष्ट्रिय निकुञ्ज कार्यालय, सेदुवाबजारले जारी गरेको पत्रअनुसार हाटिया सेक्टरअन्तर्गत पर्ने क्षेत्रमा परियोजनासम्बन्धी गतिविधि भइरहेको भन्ने उजुरी प्राप्त भएपछि स्थलगत निरीक्षण गरी यथार्थ विवरणसहित लिखित प्रतिवेदन पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको हो। पत्रमा समुदायिक वन क्षेत्र, बरुण र अरुण नदीको संगमस्थल जस्ता संवेदनशील सार्वजनिक जग्गामा डोजर प्रयोग गरी संरचना निर्माण गरिएको भन्ने गम्भीर आरोपको छानबिन गर्न भनिएको छ।


निकुञ्ज कार्यालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र प्रचलित कानुनबमोजिम अनुमति नलिई गरिएका कुनै पनि गतिविधि अवैध हुने उल्लेख गर्दै, तथ्य प्रमाणसहित प्रतिवेदन पेश नभए कानुनी कारबाही अगाडि बढाइने चेतावनी पनि दिएको छ।

यस विषयले स्थानीय समुदाय, धार्मिक–सांस्कृतिक सरोकारवालाहरू र वातावरणविद्हरूबीच चासो बढाएको छ। उनीहरूले परियोजना अघि बढाउँदा पर्यावरणीय प्रभाव मूल्याङ्कन (EIA), स्थानीय सहमति र संरक्षण क्षेत्रका मापदण्ड कडाइका साथ पालना हुनुपर्ने माग गरेका छन्।

केही दिन अघि स्थानीयसंग कुनै सहमति अनुमति नलिइ सर्भे गर्न प्राविधिक स्थलगत रुपमा आएको भन्दै स्थानीयले अवरोध गरेका थिए ।

ऐतिहासिक क्षेत्र चिन सिमा नजिक रहेको शिङ्सालुङ हालको भोटखोला गाउँपालिका भित्र स्थानीयसंग कुनै सहमति आधिकारिक निर्णय नगरी खोला नदिमा जलबिद्युत परियोजना अघि बढाउदा च्याम्ताङ(दम्दाङ)को छुजुङ खोलामा सांगृला उर्जा कम्पनी र स्थानीय सर्वोच्च अदालतसम्म मुद्दा पुगेको छ । त्यसैगरी रिदाकमा रहेको बाकाङ खोलामा समेत स्थानीयसंग समन्वय नगरी केही व्यक्तिसंगको मिलेमतोमा परियोजना अगाडि बढाएको भन्दै विवाद चर्किदै गएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै